भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्र दोक्लममा थप सेना खटाउने चेतावनी चीनले दिएको छ ।
चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि सार्वभौमिकता रक्षाका लागि उक्त क्षेत्रमा हाम्रा थप सेना खटाउने छौँ ।’
चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने दोक्लम क्षेत्रमा एक महिनाभन्दा बढी समयदेखि विवाद चलिरहेको छ ।
चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्ने भएको हो। तर, भारतले सो सडक निर्माणको कार्य रोक्नु भनेको छ ।
निर्माणस्थल आफ्नो भूभाग भएको बताउँदै चीनले उक्त क्षेत्रमा निर्माणको कार्य भने रोकेको छैन।
बरु उक्त क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले सीमा क्षेत्रको उल्लङ्घन गरेको चीनको भनाइ छ।
चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतीय पक्षले चीनको सीमामा प्रवेश गरेर सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको छ ।
उनले सो पत्रकार सम्मेलनमा सीमा रक्षाका लागि थप सैनिक पठाउन लागेको जानकारी दिएका हुन्।
तर, चीनले सो क्षेत्रमा कति संख्यामा सेना पठाउन लागेको हो भन्ने जानकारी दिएको छैन। रासस/एएफपी