चीनले रक्षामन्त्री दोङ जुनमाथि भ्रष्टाचारको अनुसन्धान थालेको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले दाबी गरेको छ।
भूतपूर्व र हालका अमेरिकी अधिकारीको हवाला दिँदै फाइनान्सियल टाइम्सले बुधबार सो खुलासा गरेको हो। त्यसबारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयले भने सो समाचारको खण्डन गरेको छ। दोङ भ्रष्टाचारको छानबिनमा परेका लगातार तेस्रो चिनियाँ रक्षामन्त्री हुन्।
राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार गरेको आरोपमा अक्टोबरमा २०२३ मा ली शाङ्फुलाई हटाएर डिसेम्बरमा दोङलाई रक्षामन्त्री बनाएका थिए। लीलाई हटाएको कुरा सार्वजनिक हुनुभन्दा अघि उनी हप्तौंसम्म हराएका थिए। त्यतिबेला पनि फाइनान्सियल टाइम्सले उनीमाथि भ्रष्टाचारको अनुसन्धान थालिएको पहिलोपटक खुलासा गरेको थियो।
ली भन्दा अघिका रक्षामन्त्री वेइ फेङ्गहीमाथि पनि पदबाट हटेपछि भ्रष्टाचारको अनुसन्धान गरिएको थियो।
दोङले गत हप्ता लाओमा भएको एशियाबारेको रक्षा सम्मेलनमा भाग लिएका थिए। त्यहाँ उनले अमेरिकी समकक्षी लोएड अस्टिनसँग भेट्न अस्वीकार गरेका थिए। गत मेमा अस्टिनसँग सिंगापुरमा भेटेका दोङले अमेरिकाले भर्खरै ताइवानलाई हतियार दिने घोषणा गरेको कारण देखाउँदै यसपटक भने भेट्न अस्वीकार गरेका थिए।
त्यसको एक हप्ता अघि मात्रै सीले एसिया-पेसिफिक आर्थिक सहकार्यसम्बन्धी बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटे पनि दोङले अस्टिनसँग भेट्न अस्वीकार गरेका थिए।
तत्कालीन अमेरिकी सभामुख नेन्सी पेलोसीले अगस्ट २०२२मा ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँग सैन्य भेटघाट बन्द गरेको थियो। गत नोभेम्बरमा अमेरिकाको क्यालिफोर्नियामा बाइडेन र सीले भेटघाट गरेपछि उच्च तहका सैन्य अधिकारीबीच फेरि सैन्य सम्पर्क सुरू गर्ने सहमति भएको थियो।
दोङले लाओमा भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेटेका थिए। सो भेटमा दुवै पक्षले सन् २०२० को सीमा झडपबाट पाठ सिकेर आपसी विश्वास र समझदारी बढाउन सहमत भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
दोङमाथि छानबिन सुरू गरेको हो भने सीले जनमुक्ति सेनालाई भ्रष्टाचारमुक्त बनाउने अभियान जारी राखेको मान्नुपर्छ। गत वर्षको अन्त्यमा लीलाई हटाएको बेलामा नौ जना जनरलहरू माथि पनि सीले कारवाही गरेका थिए। त्यतिबेला सेनाको रकेट फोर्सका प्रमुख रहेका लीभन्दा अघिका रक्षामन्त्री वेइसहित रकेट फोर्सका अरू वरिष्ठ सैन्य अधिकारी पनि कारबाहीमा परेका थिए।
आणविक हतियार सहित आधुनिक मिसाइलहरूबारे हेर्ने रकेट फोर्स चीनको सबैभन्दा धेरै बजेट हुने सैन्य निकायहरूमध्ये पर्छ। त्यहाँ व्याप्त भ्रष्टाचारले चीनको सैन्य क्षमतामाथि नै गम्भीर असर पार्न थालेपछि सीले रकेट फोर्सका वरिष्ठ अधिकारीलाई कारबाही थालेका थिए।
अमेरिकासँग युद्ध हुँदा प्रयोग गरिने कतिपय मिसाइलमा तरल इन्धनको साटो पानी राखेको र अरू पूर्वाधारमा पनि भ्रष्टाचारका कारण धेरै कमजोरी भेटिएपछि सीले कारबाही सुरू गरेको भनेर पश्चिमा मिडियाले लेखेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)