नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाको ३५ औं समृति दिवस शुक्रबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
नेपाली काँग्रेस र त्यसका भातृ संगठनहरुले आफ्ना संस्थापक नेता कोइरालाको स्मृतिमा देशभर र देशबाहिर पनि विभिन्न कार्यक्रम आयोजना गरे। यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाका नेतृत्वमा स्थापना भएको प्रजातन्त्रलाई जोगाउने दायित्व नेपाली काँग्रेसकै भएको बताए।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई फुलाउने, फलाउने बीपी कोइरालाको सपना साकार पार्न सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्नेमा पनि जोड दिए।
विक्रम संवत २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याएपछि कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। तत्कालीन राजा महेन्द्रले अपदस्त गरेपछि कोइरालाले लामो समय निर्वासन र जेल जीवन बिताउनु परेको थियो।