नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनका पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सोमबार छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौं भन्ने विश्वास व्यक्त गर्दछु।'
आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको उनको भनाइ छ।
'छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने हार्दिक कामना गर्दछु,' संयोजक प्रचण्डले भनेका छन्।
मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने छठ पर्व संस्कृति, परम्परा, श्रम–सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व रहेको र यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने प्रचण्डले बताए।