स्पेनिस फुटबल संघका अध्यक्ष एञ्जल मारिया भिलार र उनका छोरा भ्रष्टाचारको मुद्धामा मंगलबार पक्राउ परेका छन्।
भिलार फिफा र युएफा दुवैको उपाध्यक्ष हुन्। स्पेनिस प्रहरीले नक्कली कागजपत्र पेश गरेको, फुटबलको बजेट दुरुपयोग गरेको र भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको बताएको छ।
विदेशी मिडिया स्काई स्पोटर््सले स्पेनिस प्रहरीलाई उधृत गर्दै लेखेको छ, ‘स्पेनिस फुटबल संघका अध्यक्ष एञ्जल मारिया भिलार, उनको छोरा गोर्का भिलार र अन्य तीन पदाधिकारीलाई संघको म्याड्रिडस्थित कार्यालयमा छापाको हान्ने क्रममा पक्राउ गरिएको हो।’
प्रहरीका अनुसार पक्राउ पर्ने अन्य पदाधिकारीमा संघको आर्थिक मामिलाका उपाध्यक्ष जुआन पाड्रोन पनि छन्। यी सबैलाई संघको वित्तिय कारोवारको जाँच गर्ने क्रममा दोषी पाइएको हो।
स्पेनमा फुटबल संघका पदाधिकारी निकै प्रभावशाली मानिन्छन्। तर पनि फुटबलमा देखिएको भ्रष्टाचारको विषयमा स्पेनको शिक्षा, संस्कृति तथा खेलकुदमन्त्री इनिगो मेन्डेज डे भिगोले सबैभन्दा पहिले प्रतिक्रिया दिएका छन्। उनले भने, ‘स्पेनमा सबैका लागि कानुन बराबर छ। कानुनभन्दा माथि कोही छैन।’
भ्रष्टाचारको मुद्धामा पक्राउ परेका भिलारको स्पेनी राजनीतिमा निकै ठूलो प्रभाव छ। उनी फिफामा भ्रष्टाचारको मुद्धा उजागर भएपछि मिचेल प्लाटिनीको स्थानमा २०१५ मा युरोपेली फुटबल महासंघको अन्तरिम अध्यक्ष बनेका थिए। उनी १९८८ देखि स्पेनिस फुटबलको अध्यक्ष पदमा कार्यरत छन्।