नेपालले एएफसी युथ–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत बलियो उज्वेकिस्तानलाई पहिलो हाफमा १–० गोलमा रोकेको छ।
शारीरिकरुपमा नेपालभन्दा निकै सशक्त देखिएको उज्वेक खेलाडीलाई पहिलो हाफमा नेपाली खेलाडीले खुलेर खेल्न दिएनन्। उज्वेकिस्तानले गोलको केही मौका बनाए पनि उनीहरुले एक गोलमा मात्र चित्त बुझाउनु पर्यो।
२१ मिनेटमा उज्वेकिस्तानका अग्ला डिफेन्डर तुर्सनोभ दोस्तोनभेकले कर्नर किकको सदूपयोग गर्ने क्रममा गोल गरे। कर्नरबाट पाएको बललाई मिडफिल्डर सिदिकोभ जाभोखिरले लामो र अग्लो भल्ली नेपाली डिबक्स भित्र छिराएपछि तुर्सनोभले हेडिङमार्फत गोल गरे।
उज्वेकले थ्रु–बलमार्फत नेपाली गोलपोस्टमा थुप्रै आक्रमण गर्ने प्रयास गरेको थियो। तर, शारीरिकरुपमा उज्वेक खेलाडीभन्दा कमजोर देखिए पनि नेपाली खेलाडीले गोल हुन दिएनन्।
पहिलो हाफको खेल सकिएको रेफ्रिले जनाउ दिनुअघि अञ्जन बिस्टले बाइसाइक्लिङ किक हान्दै रंगशालामा उपस्थित नेपाली दर्शकलाई उत्साही तुल्याएका थिए।
https://www.youtube.com/watch?v=LbMRZ4TsB9Y