अत्याधिक गर्मी छल्नका लागि सबै भन्दा उपयुक्त स्थल बन्दै गएको छ, नेपालगंजको गाभर भ्याली ।
चिसापानी गाविस ९ गाभर भ्यालीमा होम स्टे संचालनमा आएपछि नेपालगंजको गर्मी छल्न उपयुक्त स्थल बनेको हो ।
नेपालगंजदेखि २२ किलोमिटर टाढा रहेको गाभर होम स्टे अलि उचाइँ भू भागमा छ, वरीपरी जंगल भएका कारण पनि त्यस स्थानमा निकै शितल र चिसो हावा चल्छ । एक वर्षदेखि संचालनमा आएको गाभर होम स्टे अहिले ५ वटा घरमा मात्र संचालनमा आएको छ । होम स्टेमा दश जनाको क्षमता रहेको छ । दिन प्रतिदिन होम स्टेमा आउने पाहुनाको संख्यामा वृद्धि भएपछि त्यसलाई विस्तार गर्ने सोच बनाएका छन् अध्यक्ष कृष्ण चौधरीले ।
अहिले ५ वटा घरमा होम स्टे संचालमा आएको छ उनले भने पाहुनाको चापले छिट्टै क्षमता विस्तार गर्दैछु । रत्न राजमार्ग अन्तर्गत कोहलपुरदेखि ८ किलोमिटरमा रहेको गाभर पुग्नका लागी ६ किलोमिटर भने कच्ची बाटो पर्छ ।
अध्यक्ष चौधरीका अनुसार गाभरमा विभिन्न जिल्लाबाट आएका मानिसहरुको बसोबास स्थल भएकाले पनि विविध संस्कृति हेर्न पाइन्छ । अहिले मुगुबाट बसोबास सरेका मुगालीका ३ घर, थारुको एक घर, हुम्लाबाट बसाई सरेका एक हुम्लीका घरमा होम स्टे संचालमा आएको छ ।
बाँकेमा भन्दा ६ देखि ७ डिग्रि सम्म कम तापक्रम हुने भएकाले पनी गर्मी छल्न पाहुनाहरु आउने गरेको गरेको चौधरीले बताए । बाँकेभन्दा चिसो हुने भएकाले यसलाई कान्छो देउराली समेत भनिन्छ ।
गाभर भ्याली राष्ट्रिय निकुन्जपनि जोडिएको छ । जंगली जनावर तथा प्रकृति प्रेमीका लागी समेत उपयुक्त स्थल बन्न सक्ने चौधरीले बताए ।