अन्तराष्ट्रिय रुपमा प्रख्यात ब्राजिलियन लेखक पाउलो कोहेलोले भारतीय अभिनेता शाहरुख खानलाई विश्वकै उत्कृष्ट अभिनेता बताएका छन्। उनले आइतबार बिहान आफ्नो ट्विटर अकाउन्टमा शाहरुखको तस्बिर अपलोड गर्दै शाहरुखलाई विश्वकै प्रसिद्ध र उत्कृष्ट सिनेस्टार बताएका हुन्।
तस्बिरमा शाहरुख आफ्नो फ्यानहरुसँग हात हल्लाउँदै अन्तरक्रिया गरिरहेका छन्। उनले शाहरुखको तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘विश्वको प्रसिद्ध र उत्कृष्ट सिने स्टार को हुन्?’
पाउलोले गरेको ट्विटमा शाहरुखका हजारौं फ्यानहरुले रिट्वीट र कमेन्ट गरेका छन्।
पाउलोले 'माई नेम इज खान' फिल्मबाट शाहरुखको बारेमा थाहा पाएको पनि आफ्नो अर्को ट्विटमा लेखेका छन्। 'माई नेम इज खान एन्ड आई एम नट अ टेररिस्ट' भन्ने उक्त फिल्मको संवाद उद्धृत गर्दै उनले यो फिल्मलाई सबै स्कुल र कलेजमा अनिवार्य गर्नुपर्ने बताएका छन्।
अभिनेता शाहरुख खान बलिउडमा सुपरस्टार मानिन्छन्। उनी फिल्म क्षेत्रबाट विश्वको धेरै पैशा कमाउने अभिनेताको टप १० को सूचीमा सामेल छन्।