विमल घर्तीमगरको कप्तानीमा नेपाली युवा टोली आज राती ८ बजेर १० मिनेटमा युनाइटेड अरब इमिरेट्स (युएई) को ताहनोन मोहम्मद रंगशालामा आयोजक युएईविरुद्ध एएफसी युथ–२३ फुटबल प्रतियोगिताको पहिलो खेल खेल्न मैदानमा उत्रिँदैछ।
आगामी वर्ष चीनमा आयोजना हुने एएफसी युथ–२३ च्याम्पियनसिपको छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ।
नेपालको युवा टोली र युएईको युवा टोलीबीच यो नै पहिलो अन्तर्राष्ट्रिय खेल हो। तर, नेपाली राष्ट्रिय टोलीले सन् १९८४ मा एक पल्ट युएईसँग खेलिसकेको छ। ३३ वर्षअघि साउदी अरबको जेदामा नेपाल र युएईबीच एसियन कप छनोटमा भिडन्त भएको थियो। त्यतिबेला नेपाल ११–० गोलले पराजित भएको थियो।
नेपाली राष्ट्रिय टोलीले पहिलो पल्ट कृत्तिम घाँसे (एस्ट्रोटर्फ) मैदानमा खेलेको थियो। नेपालमा सन् १९८४ मा आयोजना भएको पहिलो साफ गेम्समा फुटबलतर्फ स्वर्ण जितेपछि नेपाली खेलाडीले एसियाको प्रतिष्ठित प्रतियोगिता खेल्ने मौका पाएका थिए।
१९९० को विश्व कप खेलिसकेको युएई कडा टोली मानिन्छ। २०१४ देखि सुरु भएको एएफसी युथ–२३ च्याम्पियनसिपअन्तर्गत हालसम्म २ वटा संस्करण समाप्त भइसकेको छ। जसमा दुवै पल्ट छनोट भएर युएई क्वाटरफाइनल पुगेको थियो।
नेपाली युवा टोलीका प्रशिक्षक राजुकाजी शाक्य पनि युएईलाई कडा प्रतिद्वन्दी मान्छन्। उनले सेतोपाटीसँग कुरा गर्दै भने– धेरै अर्थमा आजको खेलले हाम्रो प्रतियोगितामा टिक्ने सम्भावना उजागर गर्नेछ।’
आयोजक भएको हुनाले युएईले दह्रो तयारी गरेको छ। नेपाली टिम बंगलादेशविरुद्ध यसै साता ललितपुरको एन्फा कम्प्लेक्समा आयोजना भएको मैत्रीपूर्ण खेल खेलेर प्रतियोगितामा भाग लिन गएको छ। मैत्रीपूर्ण खेल १–० ले जिते पनि नेपालको खेलमा थुप्रै त्रुटी देखिएको थियो।
अहिले प्रशिक्षक शाक्य त्यही त्रुटी सच्याउन लागेका छन्। उनले सेतोपाटीसँग कुरा गर्दै आफूहरुले आक्रामक खेलभन्दा पनि संयमित भएर खेल्ने स्पष्ट पारे।
‘हामी पहिले आफ्नो गोलपोस्ट सुरक्षित गरेर मात्र आक्रमणमा उत्रिन्छौ,’ उनले भने। बंगलादेशविरुद्धको खेलमा केही नेपाली खेलाडीको फिटनेश कमजोर देखिएको थियो। यस्तै मिडफिल्ड पनि कमजोर देखिन्थ्यो।
नेपालले आज बंगलादेशविरुद्ध उतारेकै टिम उतार्न लागेको छ। नेपाली टोली कप्तान विमल घर्तीमगरलाई एक्लो स्ट्राइकरको रुपमा उतार्ने तयारीमा छ। बंगलादेशविरुद्ध डिफेन्सिभ मिडफिल्डको भूमिका पनि त्यति राम्रो देखिएको थिएन्। अतिरिक्त खेलाडीको रुपमा पुजन उपरकोटी मैदानमा प्रवेश गरेपछि मिडफिल्ड केही सक्रिय बनेको थियो।
युथ–२३ टिममा पहिलो पल्ट समावेश भएका उनी आज पनि बेन्चबाटै सुरुवात गर्दैछन्। नेपालले यसअघि ४–४–२ को फर्मेशनमा खेल्दै आइरहेको छ। आज शाक्यले ४–१–४–१ को नयाँ फर्मेसनमा खेलाडी उतार्न सक्ने सम्भावना प्रबल छ। जर्मनीले यसै महिना रुसमा आयोजना भएको कन्फिडरेशन कप जित्दा यही फर्मेसनमा खेलाडी मैदानमा उतारेको थियो।
‘यो शैलीमा खेलाउन निकै गाह्रो छ। अभ्यासमा यो शैली पनि पछ्याइरहेका छौं। त्यसैले निर्णय अन्तिम मिनेटमा लिनेछु, ’ उनले भने।
नेपालविरुद्ध छनोट खेलमा उत्रिँनुअघि युएईले ४ वटा मैत्रीपूर्ण खेल खेलेको छ। जसमा उसले बहराइनलाई ३–२ र ताजकिस्तानलाई २–१ ले पराजित गरेको थियो। साउदी अरबविरुद्ध २ वटा खेल १–१ र २–२ गोलको बराबरीमा रोकिएको थियो।
सम्भावित नेपाली टोलीगोलकिपरः एलन न्यौपाने
डिफेन्डरः अनन्त तामाङ(उपकप्तान), दिनेश राजवंशी, गौरव बुढाथोकी, अमित तामाङ,
मिडफिल्डः हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल वल, अञ्जन बिष्ट
फरवार्डः विमल घर्तीमगर (कप्तान)