मेक्सिकोको हिडाल्गो प्रान्तस्थित तिजायूका शहरमा भएको हमलामा ११ जनाको मृत्यु भएको छ। बच्चाको जन्मोत्सवका अवसरमा आयोजित पार्टीमा नकाब लगाएका बन्दुकधारी समूहले उक्त हमला गरेको हो।
प्रहरीका अनुसार घटनास्थलमा ११ जना वयस्क मृत भेटिएका छन् भने ३ बालबालिका शकुशल छन्। उनीहरुलाई गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।
तिजायूकाको आवासीय क्षेत्र परिसरमा घरबाहिर टेन्टमा जन्मोत्सव मनाइरहेकामाथि किन हमला भयो भन्नेबारे कुनै आधिकारीक पुष्टि भएको छैन।
केही दिनयता मेक्सिकोमा हिंसाका घटना बढिरहेको छ। लागुऔषध कारोबार यसको मुख्य कारण भएको विश्लेषकहरूले बताएका छन्।
गत मे महिनामा मात्र २ हजार १ सय ८६ जनाको हत्या भएको रिपोर्ट छ। बालबच्चासहित पूरै परिवारको हत्या हुने यस्ता घटनाले मेक्सिकोलाई हिंसात्मक देशको सूचीमा माथि उकाल्दै गरेको टिप्पणीहरू पनि आएका छन्।