ग्लोबल नेपाली
सन्तोष तिमिल्सिना केही वर्षअघि दक्षिण कोरिया गएका थिए।
उनी कास्कीको कास्कीकोट गाउँपालिकाका हुन्। उनले नेपालमा कुनै उपयुक्त काम पाएनन्। बिहान–बेलुका हातमुख जोर्नै समस्या पर्न थाल्यो। त्यसपछि उनले विदेश जाने सोचे।
उनी पहिलो पटक सन् २००८ मा कोरिया गए।
अर्काको देशमा काम खोज्दै जानुपर्दा मन असाध्यै भारी भएको थियो।
'आफूलाई दुःख पर्दा, परिवारका मान्छे दुःख–विराममा हुँदा, गाउँमा खुसियालीको अवसर हुँदा पनि एकदमै सम्झना आउँथ्यो,' उनले भने।
सन्तोषको काममा जति खट्न सक्यो, कमाइ उति राम्रो हुन्थ्यो। उनी दैनिक १५ घण्टासम्म काम गर्थे। चार वर्ष काम गरेर सन् २०१२ को अन्तिममा नेपाल फर्किए।
'कोरियामा दिनको १५ घण्टासम्म खटिन्थ्यो। यसरी नेपालमा खट्न पाए त राम्रो कमाइ गर्न सक्छु भन्ने लाग्यो,' उनले सुनाए।
उनी फर्किएताका नेपालमा स्मार्टफोन भर्खर भर्खर चल्तीमा थियो। सन्तोषले पनि पोखरामा मोबाइल पसल खोले।
'कोरियामा त्यो बेला अहिले नेपालमा जसरी चिया पसल फैलिएका छन्, त्यसरी नै मोबाइल पसल फैलिइरहेका थिए। त्यसैले यहाँ पनि मोबाइल पसल चलाउन मन लाग्यो,' उनले भने।
तर उनले जति सोचेका थिए, मोबाइल पसल त्यति चलेन। अर्काको देशको सामान बेच्नुपर्ने, केही बिग्रियो भने मर्मतका लागि चाहिने सामग्रीमा पनि त्यही देशसँग भर पर्नुपर्ने!
उनलाई यसरी अर्काको देशको सामान बेचेर हुँदैन भन्ने भइरहन्थ्यो। सबै कामको व्यवस्थापन आफै गर्दा गाह्रो पनि भयो।

जसोतसो तीन वर्ष उनले मोबाइल पसल चलाए। त्यसपछि फेरि कोरिया गएर केही सीप र पुँजी लिएर आउने सोचे।
सन् २०१६ मा उनी दोस्रो पटक कोरिया गए। उनले काम गर्ने कम्पनी अलि दुर्गम भेगमा थियो। सुरूमा काठ कम्पनीमा गएका उनले विभिन्न समयमा कम्पनी परिवर्तन गरिरहे।
प्लास्टिकको बल बनाउने कम्पनीमा प्याकिङको काम गरे। पछि स्टोरमा व्यवस्थापनको काम हेरे।
पहिलो पटक कोरिया जाँदा उनले जसरी मोबाइल पसल फैलिएको देखेका थिए, दोस्रो पटक जाँदा कफी पसल (क्याफे) फैलिरहेको देखे।
सन्तोषलाई पनि कफीमा रूचि लाग्न थाल्यो। उनले नेपाल फर्केर कफी पसल चलाउने सोचे। कफी बनाउने सीप कोरियामै सिक्ने निधो गरे।
सीप सिक्ने हुटहुटी एकातिर, अर्कातिर जागिर। तैपनि उनले समय मिलाए।
जागिर सकेर सुत्ने समयमा कफी तयार गर्ने, मेसिन मर्मत गर्ने लगायत काम सिके।
'मसँगैका साथीले म बिहान कति बेला उठ्छु, बेलुका कति बेला सुत्छु भन्ने केही थाहा पाउँथेनन्। म सुत्ने समय मिलाएर सिक्न जान्थेँ। लगभग दुई वर्ष कडा मेहनत गरेँ,' सन्तोषले भने।
सन्तोषले त्यहाँको कफी संस्कृति बुझे, कफी बनाउन सिके। अनि नेपालमा नेपालकै कफीको स्वाद पस्किने योजना बनाएर फर्किए।
दुई वर्षअघि उनले पोखराको सिमलचौरमा 'जुम्ली क्याफे' खोले। यहाँ उनले कास्की र छिमेकी अन्य जिल्लामा उत्पादित कफीको स्वाद पस्किरहेका छन्।
'जुम्ल्याहा अर्थ दिने हिसाबले जुम्ली नाम राखेको हुँ। तर धेरै जना जुम्लाको कफी सोचेर आउँछन्,' सन्तोषले भने।
त्यसरी आउनेहरूलाई उनी कफी जुम्लाको त होइन, अर्गानिक नेपाली हो भनेर स्वाद चखाएर पठाउँछन्।

सन्तोष आफै कफीको कच्चा पदार्थ संकलन गर्छन्। आफै भुट्छन् र प्रशोधन गर्छन्। अघिल्लो वर्ष उनले पाँच सय किलो कफीदाना संकलन गरेका थिए। यस वर्ष १२ सय किलो ल्याएका छन्।
'हाम्रो क्याफेमा कफीको स्वाद लिएपछि धेरैले बल्ल नेपाली स्वाद पायौं भनेका छन्,' उनले खुसी हुँदै भने।
आफूले ल्याएर भुटेको (रोस्ट गरेको) केही कफी अरू दुई–तीन वटा क्याफेलाई पनि दिइरहेको सन्तोषले बताए।
जुम्ली क्याफेमा नियमित ग्राहकसँगै पोखरा घुम्न गएका स्वदेशी र विदेशी पर्यटकहरू पनि पुग्छन्।
कोरियाको जस्तो कमाइ नभए पनि क्याफेको कारोबार राम्रै भएको सन्तोषले बताए।
'अघिल्लो वर्ष ३० लाख रूपैयाँको कारोबार भएको थियो। यसपालि अझ बढ्ने विश्वास छ,' उनले भने।
सन्तोषले क्याफेमा दुई जनालाई रोजगारी दिएका छन्। उनीहरूलाई कफी बनाउन र कफी मेसिन मर्मत गर्न पनि सिकाइरहेका छन्।
आफ्नै देशमा, परिवारसँग बसेर काम गर्दै, रोजगारी पनि सिर्जना गर्न पाउँदा खुसी लागेको उनले बताए।
आगामी दिनमा उनले क्याफेमा खाजाका परिकार पनि राख्ने सोचेका छन्। केही समयअघि काठमाडौंमा कोरियन परिकार बनाउन सिके पनि।
कफीमा राम्रो सम्भावना देखेका सन्तोषले आफ्नै बारीमा कफी खेती पनि सुरू गरिसके। स्याङ्जामा साथीलाई पनि बिरूवा रोप्न लगाएका छन्।
'देशको परिस्थिति सहज हुँदै गयो, सोचेजस्तो हुँदै गयो भने कफीको स्वाद ब्रान्डिङ गर्ने सपना छ,' सन्तोषले भने।
***