स्पेनको चर्चित क्लब बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक कार्यक्रममा जापानमा उपस्थित हुने ठूलो नामहरुमा नेइमार र लिओनल मेसी रहेका छन्। बार्सिलोनाको नयाँ जर्सीलाई जापानी कम्पनी राकुटेनले प्रायोजन गरेको छ। नयाँ सिजनका लागि विहिबार टोकियोमा जर्सी सार्वजनिक गरिएको थियो।
जसमा गेरार्ड पिके र आर्डा टुरानसँगै नेइमार र मेसी पनि देखा परेका थिए। मेसी आफ्नो बच्चैदेखिको साथी आन्टोनेला रोक्कुजोसँग विवाहपछि क्यारेबियन आइसल्यान्डमा हनिमुन मनाएर नयाँ सिजनका लागि फुटबल संसारमा फर्किने क्रममा जापान पुगेका हुन्।
नेइमार पनि ब्राजिलस्थित आफू जन्मिएको शहरमा आयोजना हुन लागेको बृहत फाइभ–ए–साइड फुटबलको प्रमोसनमा व्यस्त थिए। उनी गरिब केटाकेटीको शिक्षाका लागि पैसा उठाउने हितकारी काममा लागेका छन्। उनी संलग्न प्रतियोगितामा ५३ देशका १ लाख खेलाडी संलग्न हुने बताइएको छ।
दुवै स्टार खेलाडी नयाँ सिजनको लागि मैदानमा उत्रिनुअघि जर्सी सार्वजनिक भएको कार्यक्रममा भाग लिन जापान पुगेका हुन्। मेसीले जर्सी सार्वजनिक कार्यक्रममा नवनियुक्त प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेको कार्यकालमा क्लबले नयाँ उचाई लिने बताएका छन्। उनले एट्लेटिको बिलबाओका पूर्व प्रशिक्षकको मातहतमा खेल्न लागेको क्षणबाट आफू उत्साही रहेको बताए। ‘नयाँ प्रशिक्षकसँग सबै नयाँ हुनेछ,’मेसीले भने, ‘उनी कस्तो प्रशिक्षक हुन मलाई थाहा भएन तर उनी असल व्यक्ति हुन।’
बार्सिलोनाका अन्य खेलाडीहरु क्याम्प नोउमा अभ्यासमा फर्किएका छन्।