अमेरिकामा आयोजना हुन लागेको विश्व चर्चित दुई क्लब रियल म्याड्रिड र बार्सिलोनाबीचको खेलमा क्याटलान क्लबले जहाँ आफ्नो स्टार खेलाडी ‘एमएसएन’ लाई एकै पल्ट मैदानमा उतार्दै छ, त्यही रियलले क्रिस्टियानो रोनाल्डोलाई बाहिर राखेको छ।
अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत बार्सिलोना र रियल जुलाई २९ मा मियामीमा भिड्दै छन्। प्रतियोगिताका लागि बार्सिलोनाले लिओनल मेसी, लुइस सुआरेज र नेइमारसहित पूर्ण टोलीको घोषणा गरेको छ।
मंगलबार अमेरिका उडेको रियलको २६ सदस्यीय टोलीमा ४ पल्टका विश्व उत्कृष्ट खेलाडी रोनाल्डोको नाम छैन्। गत सिजन रियललाई ला लिगा र च्याम्पियन्स ट्रफीको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका रोनाल्डो केही समयअगाडि कन्फिडरेशन कपमा व्यस्त थिए। उनी अहिले आफ्नो नवजात जुम्ल्या छोरा–छोरीसँग छुट्टी विताइरहेका छन्।
जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियलले आफ्नो पहिलो खेल म्यानचेस्टर युनाइटेडसँग जुलाई २३ मा खेल्नेछ।
टोलीमा गारेथ बेल, करिम बेन्जेमा, टोनी क्रुस, लुका मोड्रिक, इस्को, मार्सेलो र नयाँ अनुबन्धित थिओ हर्नान्डेज समावेश छन्। क्लब छोड्ने हल्लामा रहेका अल्भारो मोराटा पनि टिममा सहभागी हुनेछन्।
आफ्नो बच्चै देखिको साथी आन्टोनेला रोक्युजोलाई विवाह गरेका मेसी बार्सिलोनासँगको सम्झौता नवीकरण गरेर यो प्रतियोगितामा सहभागी हुँदैछन्। बार्सिलोना आफ्नो नयाँ प्रशिक्षक अर्नेष्टो भाल्भेर्डेको आगमनपछि पहिलो पल्ट मैदानमा उत्रिँदै छ। यसै सिजनको अन्त्यमा लुइस एनरिकलाई पदस्थापन गर्दै भाल्भेर्डे प्रशिक्षक नियुक्त भएका थिए।
बार्सिलोनाको टिममा जाभियर मास्चेरानो, आन्द्रेस इनिस्टा, गेरार्ड पिके, इभान राकिटिक र आर्डा टुरान समावेश छन्। जर्मनीलाई कन्फिडरेशन कपको उपाधि दिलाएका गोलरक्षक आर्क–आन्द्रे टेर स्टेगन भने समावेश हुने छैनन्।
बार्सिलोनाले आफ्नो पहिलो खेल च्याम्पियन्स लिगको उपविजेता युभेन्ट्सविरुद्ध जुलाई २२ मा खेल्नेछ।