कर छलीको आरोपमा क्लबले सहयोग नगरेको भन्दै म्यानचेस्टर युनाइटेड फर्किने तयारीमा रहेका पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडमै बस्ने तय भएको छ। उनको यो निर्णयले म्यानचेस्टरलाई गम्भीर धक्का लागेको छ।
जोसे माउरिन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर यो सिजन क्लबमा स्टार स्ट्राइकरलाई भित्र्याउन लालायित थियो। तर, रियल म्याड्रिडमा कुरा मिलेपछि रोनाल्डोले यो सिजन क्लब नछाड्ने निर्णय गरेका छन्।
रोनाल्डोलाई क्लबमा भित्र्याउन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी पनि कस्सिएर लागेको थियो। कर छलीको मुद्धा बाहिरिएपछि रोनाल्डो क्लबको व्यवहारलाई लिएर निरास थिए। २३ दिन लामो अलमललाई चिर्दै रोनाल्डो म्याड्रिडमै बस्न राजी भएको स्पेनिस पत्रिका एएसले बताएको छ।
यसबीच क्लब अधिकारीसँग सम्पर्कमा नरहेका रोनाल्डोको कप्तान सर्जियो रामोससँग नियमित जस्तो फोनवार्ता भइरहेको थियो। यसको खुलासा रामोसले गरेका छन्।
क्लबमा उनको भूमिकालाई प्राथमिकता दिनेजस्ता सकारात्मक अवस्था बनेपछि रोनाल्डो म्याड्रिडमा बस्न राजी भएको बताइएको छ। रोनाल्डो र बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीबीच लामो समयदेखि उत्कृष्टताको लडाई छ। मेसी ५ पल्ट विश्व उत्कृष्ट खेलाडी घोषित भइसकेका छन् भने रोनाल्डो चार पल्ट बनिसकेका छन्।
रोनाल्डो क्लबमा नफर्किने देखेपछि म्यानचेस्टरले इभर्टनबाट बेल्जियम स्ट्राइकर रोमेलु लुकाकुलाई भित्र्याएको बताइएको छ।