ब्राजिलका विश्व चर्चित पूर्व स्ट्राइकर रोनाल्डोका छोरा पनि ब्राजिलको युथ–१८ टिममा सहभागी भएका छन्। २ पल्ट ब्राजिलले विश्व कप जित्दा टोलीको सदस्य रहेका रोनाल्डोले आफ्नो छोरा ब्राजिलको युवा टोलीमा समावेश भएकोमा खुसी व्यक्त गरेका छन्। उनले आफैले सोशल मिडियामा यो खबर सार्वजनिक गर्दै छोरालाई बधाई तथा शुभकामना दिएका छन्।
ब्राजिलले जेरुसलममा आयोजना हुने माकाबिया गेम्सका लागि रोनाल्डोका छोरा रोनाल्ड नाजारियो डे लिमालाई टोलीमा स्थान दिएको हो।
ब्राजिलले १९९४ र २००२ मा विश्व कप जित्दा रोनाल्डो टिमका सदस्य थिए। रियल म्याड्रिड र इन्टर मिलानका पूर्व स्ट्राइकरले आफ्नो वालमा लेखेका छन्, ‘विशेष अंकमाल छ, छोरा रोनाल्ड लिमालाई, जो युथ–१८ टिममा छनोट भएका छन्। गुड लक, केटो!’
रोनाल्डको जन्म १९९९ मा इटालीमा भएको थियो, जतिबेला रोनाल्डो इन्टर मिलानबाट खेल्थे। रोनाल्डोकी श्रीमति मिलेने डोमिङ्गेसले पनि ब्राजिलको महिला टोलीबाट अन्तर्राष्ट्रिय फुटबल खेलिसकेकी छिन्।