मौद्रिक नीति सार्वजनिक भएकै दिन १ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम अघिल्ला दिनका तुलनामा निकै धेरै हो। यसअघि बिहीबार ७६ करोडको कारोबार भएको थियो भने बुधबार जम्मा ४८ करोडको सेयर खरिदबिक्री भएको थियो।
कारोबार रकम उल्लेय बढे पनि नेप्से परिसूचक भने जम्मा २ अंकले बढेर १५८४ अंकमा कायम भएको छ। बैंकिङ र फाइनान्सबाहेक सबै समूह ओर्लिएका छन्। बैंकिङ ८ अंकले बढ्यो भने फाइनान्स समूह २ अंकले बढ्यो। होटल २८, विकास बैंक ११, जलविद्युत ८, बिमा २१, उत्पादन १२ र अन्य समूह १ अंकले घटे।
नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड २७ लाखको सेयर किनबेच हुँदा एनसीसी बै.कको ४ करोड ५२ लाखको कारोबार भयो। एभरेष्ट इन्स्योरेन्स, सानिमा बैंक र स्टान्डर्ड चार्टड पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
फरवार्ड माइक्रोफाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए। गुमाउनेमा लघुवित्त कम्पनीहरु अगाडि रहे। अघिल्ला दिनसम्म मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीको चुक्ता पुँजी बढाइने हल्ला चलाइएका बेला मौद्रिक नीतिले सोअनुरुप पुँजी नबढाएपछि ति कम्पनीहरुको मूल्य बढी घटेको हो।
वमी माइक्रोफाइनान्स र मेरो माइक्रोफाइनान्सका लगानीकर्ता गुमाउनेमा अगाडि रहे। ति कम्पनीको मूल्य ५ प्रतिशत बढीले घट्यो। विजय लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स र रुरल माइक्रोफाइनान्सका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे।