साताभर नेप्से परिसूचक ४० अंकले बढेको छ। आइतबार १५ सय ४१ अंकमा रहेको नेप्से बिहीबार १५८२ अंकमा कायम भयो। गत साताको तुलनामा भने यो साता १९ अंकले बजार बढेको छ।
गत साता १५६३ अंकमा नेप्से बन्द भएको थियो। एक्सचेन्जमा साताभर १६२ कम्पनीहरुको दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भयो। कारोबार रकम गत साताको भन्दा ४२ प्रतिशत बढी हो। गत साता १६० कम्पनीहरुको एक अर्ब ८५ करोड रुपैयाँको सेयरहरु खरिद बिक्री भएका थिए।
साताभर वाणिज्य बैंक समूह ३८, विकास बैंक ५६, वित्त २, होटल ३०, जलविद्युत १८, बिमा ३२९ अंकले उक्लिए भने उत्पादन समूह २ अंकले घट्यो। अन्य समूहको वृद्धिदर १ अंकमा सीमिति रह्यो। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ अंकले बढेर ३३६ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। उसको २१ करोड १५ लाख २० हजार रुपैयाँको सेयर किनबेच भयो। कारोबार संख्याको आधारमा पनि सोही कम्पनी सबैभन्दा अगाडि रह्यो। रकमका आधारमा उत्कृष्ट कारोबार गर्ने अन्य कम्पनीहरुमा सानिमा, स्टान्डर्ड चार्टड, एनसीसी बैंक र नेरुडे लघुवित्त रहे।
त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा एनआइबिएल समृद्धि फन्ड १ अग्रस्थानमा रह्यो। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यो साता लक्ष्मी इक्वीटी फण्ड र छ्याङ्दी हाइड्रोपावरको साधारण सेयर सूचीकृत भएको छ। एनआइसी एसिया, लक्ष्मी बैंक र महाकाली विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ।