२०५८ सालमा दीलिप अग्रवाल (बगडिया) नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि थिए। २०४७ सालदेखि उनी नेपाली कांग्रेसमा निकै सक्रिय थिए।
नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालालाई मोरङको संसदीय क्षेत्र नम्बर १ मा लगातार तीन पल्ट जिताउन रंगेलीमा उनले तन र मन मात्र होइन, धन पनि खर्चेका थिए। तर, उनको कामको मूल्याङ्कन यस क्षेत्रका स्थानीय नेताले मात्र होइन, केन्द्रीयस्तरका नेताले पनि गरेनन्। यसपछि एक्कासी कांग्रेस पार्टीको सदस्यता परित्याग गरेका उनी २०६४ सालमा तत्कालिन नेकपा माओवादीमा प्रवेश गरेका थिए।
पेशाले इटा ब्यावसायी बगडिया पहिलो संविधान सभाको निर्वाचनको दुई महिनाअघि कांग्रेस छोडेर माओवादी प्रवेश गर्दा रंगेलीका थुप्रै स्थानीयलाई अचम्म लागेको थियो। अहिले उनै बगडियाले यस क्षेत्रमा अर्को विस्मित बनाउने नतिजा निकालेका छन्। स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको सबैभन्दा पुरानो शहरी क्षेत्र रंगेलीको उनी मेयर निर्वाचित भएका छन्। उनले रंगेली नगरपालिका निर्वाचनमा कांग्रेसकै प्रतिद्वन्दी मोदराज घिमिरेलाई १८ सय ८२ मतले पराजित गर्ने क्रममा इतिहास रचेका छन्।
उनले ८ हजार ६८ मत प्राप्त गरे। कांग्रेसका मोदराज घिमिरे ६ हजार १ सय ८६ मतमा खुम्चिए।
दीलिपको जित यस क्षेत्रमा धेरै कुराले ऐतिहासिक मानिन्छ। रंगेली २००७ सालदेखि नै नेपाली कांग्रेसको सबैभन्दा ठूलो आधार क्षेत्र हो। यही आधार क्षेत्रमा उनले माओवादी केन्द्रको पहिलो बिउ रोपेका छन्। स्थानीय तहअन्तर्गत प्रदेश नम्बर १ मा माओवादीको यो पहिलो नगरपालिका जित हो।
‘यहाँको जनताबाट कांग्रेसले सधै माया पायो। सुखदुःखमा सधै साथ दियो। तर, यसको बदलामा यहाँका जनताले के पाएँ?’, बगडियाले भने,‘अहिलेको नतिजा यसैको प्रतिउत्तर हो।’ उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, रोजगारी सबै कुरामा रंगेलीवासीले आमुल परिवर्तनको अनुभव गर्ने दावी गरे।
‘मलाई विश्वास गर्नु भएका सबैलाई ह्दयदेखि नै धन्यवाद दिन चाहन्छु। मेरो ध्यान सम्पूर्ण क्षेत्रको विकासमा केन्द्रित हुनेछ,’ उनले भने।
दीलिप बगडियाको जन्म २०२४ सालमा स्थानीय व्यापारी मदनलाल र गीतादेवी अग्रवालको घरमा भएको हो। उनका ४ दाजुभाई र १ बहिनी छन्। २५ जनाको ठूलो परिवार रहेको दीलिपले २०३९ सालमा रंगेलीको पब्लिक उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्र्तिण गरेका थिए।
यसपछि उनी अध्ययन छोडेर व्यवसायमा लागेका थिए। उनी विराटनगर र सुनसरीमा सफल व्यापारीको रुपमा परिचित छन्। उनको रंगेली, सोराभाग, कर्सियामा गरि ६ वटा इट्टा भट्टा छ। सुनसरीमा समेत उनले आफ्नो उद्योग विस्तार गरेका छन्।
उनले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रमा विथोलिएको सामाजिक सद्भावलाई पुनः कायम गर्दै र जनताको घरघरमा कम्तीमा एम्बुलेन्स हिड्ने बाटो व्यवस्थापन गर्ने बताए।