प्रदेश नम्बर ५ को बुटवल उपमहानगरले पहिलोपटक निर्वाचित जनप्रतिनिधि पाएको छ। बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणामअनुसार बुटवल उपमहानगरको मेयरमा एमालेका रुपन्देही अध्यक्ष शिवराज सुवेदी निर्वाचित भएका छन्।
साबिकको बुटवल नगरपालिका, मोतिपुर र सेमलार गाविस मिलाएर २० महिनाअघि बुटवल उपमहानगर बनेको हो। मुन्निलाल शाक्य बुटवल गाउँ पञ्चायतमा निर्वाचित भएयता सुवेदी ११ औं निर्वाचित मेयर हुन्।
२०५४ सालको स्थानीय निर्वाचनमा उनी तत्कालीन बुटवल नगरपालिकाको वडा नम्बर ९ मा सदस्य निर्वाचित भएका थिए। त्यसको २० वर्षपछि उपहानगरका मेयर जितेका छन्।
सुवेदीले नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेलाई २३९८ मतअन्तरले पराजित गरेका हुन्। खेलराजले २०८५१ मत पाउँदा सुवेदीले २३२४९ मत पाए।
६६,८४३ मतदाता र १९ वडा रहेको बुटवल उपमहानगरलाई एमालेले आफ्नो प्रभावक्षेत्र मान्दै आए पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेपछि एमालेलाई आफ्नो वर्चस्व कायम राख्न दबाब परेको थियो।
‘एमालेविरुद्ध बनेका सबै गठबन्धन तोडेर जनताको अभिमत पाएको क्षणले जिन्दगीकै सबभन्दा खुसी दिएको छ,’ विजयी घोषित भएपछि सेतोपाटीसँग कुरा गर्दै सुवेदीले भने।
पश्चिम नेपालको व्यापारिक, आर्थिक र शैक्षिक केन्द्रका रूपमा रहेको बुटवलमा पारदर्शिताका आधारमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए। उपभोक्तामैत्री सेवा दिनुलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
‘बुटवल उपमहानगरको सम्पूर्ण चिनारीसहित कहाँ के सेवा पाइन्छ, त्यो सेवा दिने दायित्व कसको हो र कति दस्तुर लाग्छ भन्नेबारे आमनागरिकले मोबाइलमै हेरेर जान्न पाउने प्रविधि व्यवस्थापन गर्नु मेरो प्रमुख काम हुनेछ,’ उनले भने।
मजदुर आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका सुवेदी गत असोजबाट एमाले रुपन्देहीको नेतृत्व सम्हालिरहेका छन्।
२०२० सालमा कास्की जिल्लाको हंसपुरमा जन्मिएका उनले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका छन्। अध्ययनकै क्रममा राजनीतिमा लागेर भूमिगत भएपछि उच्च शिक्षा अध्ययन गर्न पाएनन्।
२०३५ सालमा नवलपरासीको बर्दघाटस्थित दाउन्नेदेवी माविमा अनेरास्ववियुको संस्थापक बनेका सुवेदी २०३८ सालमा कास्की जिल्ला कोषाध्यक्ष बने। २०३८ सालमा तत्कालीन मालेको सम्पर्कमा आएर पोखरा नगर युथ लिग सदस्य भए। पार्टीकै योजनाअनुसार उनले २०४१ सालमा नवलपरासीको तत्कालीन कोटथर गाविसमा रहेको छत्तिसा मावि र २०४३ सालमा सोही जिल्लाको पर्सौनीमा रहेको हरिहर प्राविमा पढाएका थिए।
उनी २०४८ सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कमिटीका सहसचिव बने। २०४६ सालको जनआन्दोलनताका रुपन्देही ट्रेड युनियन आन्दोलन समन्वय समिति संयोजक रहेका सुवेदी नेकपा एमाले जिल्ला कमिटी सदस्य, जिल्ला सचिव हुँदै अहिले अध्यक्षको जिम्मेवारीमा छन्।