प्रदेश नम्बर पाँचको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित भएको छ।
बुधबार अपरान्हसम्म १८ वडाको मत गणना सकिँदा एमाले उम्मेदवार शिवराज सुवेदीले २२ हजार ४ सय ८४ मत पाएका छन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले १९ हजार ९ सय ४१ मत पाएका छन्। मत गणना हुन बाँकी १९ नम्बर वडामा १९३५ मत खसेको छ। जबकी सुवेदीले अहिले नै पाण्डेभन्दा २ हजार ५ सय ४३ मत बढी पाइसकेका छन्। यसरी हेर्दा एमाले उम्मेदवार सुवेदीको बुटवलको मेयर जित्ने निश्चित भएको हो।
उपमेयरमा पनि एमालेले भारी मतले जित्ने निश्चित भएको छ। १९ नम्बर वडाको मत गणना बाँकी रहँदा एमाले उम्मेदवार गोमा आचार्य माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पोखरेलभन्दा १० हजार मतले अगाडि छन्। आचार्यले २४ हजार ५ सय १६ मत ल्याउँदा पोखरेलले १४ हजार १ सय २५ मत पाएका छन्।
निर्वाचन आयोगले आजै साँझ बुटवलको अन्तिम परिणाम सार्वजनिक हुने बताएको छ।
एमालेले यसअघि दोस्रो चरणमा चुनाव भएको दाङको घोराही उपमहानगर जितिसकेको छ।