आइतबारदेखि सेयर बजारमा कारोबार सूचारु हुने भएको छ। भ्याटको विषयलाई सरकारले सहजताका साथ टुङ्ग्याउने प्रतिबद्धता जनाएपछि ब्रोकर कम्पनीहरु कारोबार खोल्न राजी भएका हुन्।
स्टक ब्रोकर एसोसिएसनले आइतबारदेखि कारोबार खुलाउने भएको अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए। ‘सरकारले भ्याटको अन्यौलता सहजतापूर्वक हटाउने प्रतिबद्धता जनाएपछि कारोबार नरोक्न तयार भएका हौँ’ उनले भने। यद्यपी भ्याटको अन्यौलता हटाउने सम्वन्धमा अन्य तवरले दवाव भने दिइने उनले बताए।
यसअघि शुक्रबार राजश्व सचिव शिशिर ढुंगाना र एसोसिएसनबीच भ्याटको विषय सल्टाउने सम्वन्धमा छलफल भएको थियो। अबदेखि ब्रोकर कम्पनीहरु भ्याटको दायरामा आउने र विगतको कारोबारमा भ्याट लगाउने विषयमा सहज हुने मोडालिटी बनाएर सल्टाउने सहमति भएको छ।
यद्यपी वित्तीय क्षेत्रको सेवा भएकाले सेयर कारोबारमा भ्याट लगाउन नहुने आवाज उठेको छ। यसअघि नेपाल धितोपत्र बोर्डले पनि सेयर कारोबारमा भ्याट लगाउन नहुने भन्दै ध्यानाकर्षण गराएको थियो। नेपाल चेम्बर अफ कमर्सले पनि एक विज्ञप्ति जारी गर्दै भ्याट लगाउने क्षेत्रमा सेयर कारोबार नपर्ने जनाएको छ।
विश्वका धेरै देशहरुमा समेत सेयर कारोबारमा भ्याट असुल नहुने भएको स्मरण गराउँदै उसले भर्खर अघि बढ्न थालेको नेपाली सेयर बजारमा यो उचित नहुने जनाएको छ।