यस आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डले ५१ अर्ब ५४ करोड रुपैयाँको हकप्रद र आइपिओ निश्कासनका लागि ९० वटा कम्पनीहरुलाई स्वीकृति दिएको छ।
बोर्डले ७१ संस्थाहरुलाई करिब ४२ अर्व ३० करोड रकमको हकप्रद र १९ वटा संस्थालाई ९ अर्व २४ करोड रुपैयाँको आईपीओ तथा एफपिओको सार्वजनिक निष्काशन गर्न अनुमति दिएको जनाएको छ।
हालै एक दैनिक पत्रिकामा हकप्रद सेयर निष्कासन अनुमतिलाई प्राथमिकता दिँदा आइपिओ तथा एफपिओलाई ढिलाई भएको भन्ने समाचार आएकोमा बोर्डले आपत्ति जनाउँदै खण्डन समेत गरेको छ।
समयमै चुक्ता पुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थालाई रेटिङ्ग गर्नु नपर्ने व्यवस्था गरी हकप्रद सेयर निश्कासनलाई सहजता प्रदान गरिएको बोर्डले स्मरण गराएको छ। त्यस्तै प्रक्रिया पुगेकालाई आइपिओ निश्कासनमा नरोकिएको र प्रक्रिया नपुगेकालाई स्पष्ट कागजातहरु उपलव्ध गराउन निर्देशन दिएको बोर्डले स्पष्ट पारेको छ।
संगठित संस्थाको निष्काशन अनुमति कार्य नियमित तथा पूर्ववत रुपमा संचालन हुँदै आएको बोर्डले जनाएको छ। प्रेस विज्ञप्तिमार्फत उसले कम्पनीको विवरण तथा प्रक्रियालाई आधार नमानी आवेदन दिएको मितिलाई मात्र आधार बनाएर समाचार संप्रेषण गरिनु गलत भएको जनाएको छ।