रूपन्देहीको बुटबल उपमहानगरपालिकामा रातिदेखि परेको पानीका कारण मतदान निर्धारित समयभन्दा केही ढिला सुरू भएको छ। रातिदेखि परेको पानी बिहान अलिक कम भएपछि साढे सातबजेबाट निर्वाचन सुरू भएको हो।
बुटबल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालय मतदान केन्द्रमा मतदान स्थल हिलाम्य भएका कारण मतदान सुरु गर्न ढिलाइ गरिएको छ। यो मतदान केन्द्रमा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र बुटबल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतदान गर्दैछन्।
दुबै जनाले विहान मतदानस्थलको अवलोकन गरेका थिए। मतदान सुरु हुने आशामा मतदाताहरु भने विहान ६ बजेदेखि नै आएका छन्। उनीहरु छाता ओढेर लाइन लागेका थिए।
यसैबीच एक जना बिरामीलाई ठेलामा आएर मतदान गरेका छन्। रूपन्देहीको ज्योती आदर्श निमावी केन्द्र मणिग्रामबाट जगतबहादुर थापाले ठेलामा आएर मतदान गरेका हुन्।