एक वर्षअघि इलाममा कार्यरत सशस्त्र प्रहरीका डिएसपी लकेश तुम्बाहाम्फेले आफ्नो कुखुराको खोर बनाउन तीन जना प्रहरी खटाएको सार्वजनिक भयो।
उनले इलामस्थित श्रीअन्तु गुल्ममा कार्यरत प्रहरी हवल्दार दुर्गासिंह नेम्बाङ, दानबहादुर राई र गंगा खवासलाई कुखुराको खोर बनाउने काममा लगाएपछि ठूलै आलोचना भयो। सशस्त्र प्रहरीले छानबिन समिति नै बनायो तर खासै कारबाही केही भएन।
सशस्त्र प्रहरीका डिएसपी तुम्बाहाम्फेले मात्र होइन, नेपाल प्रहरीमा बहालवाला र भूतपूर्व अधिकृतहरु धेरैले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु काममा प्रयोग गरिरहेका छन्। राज्यको सुरक्षा निम्ति जनताको करबाट नियुक्त गरिने ती प्रहरीहरु अर्काको घरमा भान्से, बगैंचे र छोराछोरीको स्याहारमा खटिन बाध्य छन्।
पूर्व प्रधानमन्त्री, मन्त्री र अवकाशप्राप्त सुरक्षा अधिकारीहरूले पनि सुरक्षाका लागि लिएका सहयोगीलाई आफ्नो घरायसी काम गर्ने अर्दलीका रूपमा खटाइरहेका छन्।
नेपाल प्रहरीभित्र वर्षौंदेखि चल्दै आएको यो प्रवृत्ति अब भने तोडिने भएको छ।
गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायका कर्मचारीलाई ‘घरेलु कामदार’ का रूपमा प्रयोग गर्ने प्रवृत्तिको आलोचना गर्दै अबदेखि उनीहरूलाई सुरक्षाबाहेक अन्य काममा खटाउने प्रवृत्ति अन्त्य भएको घोषणा गरे।
‘अबदेखि पूर्व प्रहरी अधिकृत वा बहालवाला कसैले पनि सुरक्षा निकायका कर्मचारीलाई आफ्ना कामदारका रूपमा प्रयोग गर्न पाउने छैनन्,’ उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘उनीहरूलाई सुरक्षाका काममा मात्र प्रयोग गरिनेछ।’
गृह प्रशासन सुधार मार्गचित्रको नयाँ योजना सार्वजनिक गर्दै गृहमन्त्री शर्माले उच्चपदस्थ सार्वजनिक पदाधिकारी, राजनीतिज्ञ, अवकाशप्राप्त कर्मचारी र सुरक्षा निकायका अधिकारीको व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मीका सम्बन्धमा पनि पुनरावलोकन हुने बताए।
संसदको सुशासन समितिको प्रतिवेदनअनुसार नेपाल प्रहरीमा ७ हजारभन्दा बढी प्रहरी नेता, अवकाशप्राप्त अधिकारी र बहालवाला कर्मचारीको घरमा अर्दलीका रूपमा कार्यरत छन्। नेपाल प्रहरीको संख्या ७२ हजार रहेको र त्यसको १० प्रतिशत प्रहरी भान्से र छोराछोरीको स्याहारमा खटिएका छन्। सशस्त्र प्रहरीमा पनि २ हजार ५ सय जना प्रहरी घरेलु काममा खटाइएका छन्।
प्रहरी र सशस्त्रका अतिरिक्त नेपाली सेनामा पनि अर्दली राख्ने प्रवृत्ति छ। सैनिक स्रोतका अनुसार सेनामा ४ हजारभन्दा बढी घरेलु काममा खटाइएका छन्। सुरक्षा क्षेत्रमा काम गर्न भनी आएकाहरूलाई अर्काको घरमा कामदार राख्ने प्रवृत्ति अन्त्य गर्न लामो समयदेखि माग हुँदै आएको छ।
सेनाले भने १ सय ९१ जना पूर्वपदाधिकारीलाई सुरक्षा गार्ड दिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार ८ जना पूर्वप्रधानमन्त्री, ९ जना पूर्व प्रधानन्यायाधिश, १० जना पूर्व गृहमन्त्रीले घरेलु कामदारका रूपमा प्रहरी राखेका छन्। बहालवालाको बारेमा प्रहरीले विवरण दिन लुकाएको छ।
त्यस्तै अवकाशप्राप्त सहायक रथीले ३ जना, उपरथीले ४ जना, रथीले ५ जना, पूर्व प्रधानसेनापतिले ५ जना सेना घरेलु कामदारका रूपमा राख्ने गरेको सुशासन समितिको प्रतिवेदनमा उल्लेख छ। बहालवाला सेनाका प्रमुख सेनानीले ४ जना, महासेनानीले ५ जना, सहायकरथीले ६ जना, उपरथीले ८ जना, रथीले १० जना र प्रधानसेनापतिले २० जना अर्दली राखेको भेटिएको छ।
यो पनिएसपीभन्दा माथि बढुवा हुन अब सुरक्षा कोर्ष गर्नुपर्ने