के तपाईँलाई थाहा छ अस्ट्रेलियामा नेपालीहरुको संख्या कति छ? यहाँको राजदूतावास होस या गैर आवासीय नेपाली संघ यिनीहरूसँग कुनै प्रमाणित तथ्य छैन।
कसैले चालिस हजार भन्छन् त कोही साठी हजार। तर, यस पटकको अस्ट्रेलियाको राष्ट्रिय जनगणनाले भने अस्ट्रेलियामा नेपाली भाषा बोल्नेको संख्या ६२ हजार ५ सय रहेको तथ्य सार्वजनिक गरेको छ।
अस्ट्रेलियाले गएको वर्ष आयोजना गरेको राष्ट्रिय जनगणना २०१६ को प्रतिवेदनमा यो प्रारम्भिक तथ्यांक आएको हो। करिब एक लाखको हाराहारीमा नेपाली रहेको अस्ट्रेलियाको सिड्नी, मेलवर्न, ब्रिसबेन, पर्थ, एडिलेड र डार्बिनजस्ता शहरहरुमा नेपालीको उल्लेख्य उपस्थिति छ।
अस्ट्रेलियाली तथ्यांक विभागद्वारा मंगलबार सार्वजनिक गरिएको जानकारीमा न्यूसाउथ वेल्समा ३४ हजार ६ सय ६ जनाले आफूले घरमा नेपाली बोल्ने बताएका छन्। यस्तै भिक्टोरियामा उक्त संख्या १० हजार ४ सय १४ रहेको छ।
यस्तै क्वीन्सल्याण्डमा ५ हजार ९ सय १८ नेपाली भाषी छन् भने साउथ अस्ट्रेलियामा ४ हजार ५ सय ४ रहेको तथ्यांकले जनाएको छ।
साथै वेस्टर्न अस्ट्रेलियामा २ हजार ८ सय ३१, तास्मानियामा एक हजार ६ सय ४७, नर्दन टेरीटोरीमा एक हजार २ सय १९ र राजधानी क्यानबेरामा ८ सय ६६ जनाले आफू नेपाली भाषा बोल्ने सर्बेक्षणमा बताएका छन्।
अस्ट्रेलियामा करिब पचास वर्षको इतिहास रहेको नेपाली भाषी मध्ये नेपाल, भुटान तथा भारतबाट नेपाली भाषीहरू यहाँ बसाई सरेर आएका हुन्। नयाँ जनगणनामा अस्ट्रेलियाको कुल जनसंख्या दुई करोड पैतालिस लाख सत्तरी हजार दुई सय पचास रहेको छ।
धर्म नमान्नेको संख्या तीस प्रतिशत
यहाँ हरेक एक मिनेट ४१ सेकेन्डमा एक जना बच्चा जन्मन्छन् भने तीन मिनेट १९ सेकेन्डमा एक ब्यक्तिको मृत्यु हुन्छ। हरेक दुई मिनेट १९ सेकेन्डमा अस्ट्रेलियामा बसाइ सराइ गर्ने गर्छन्। अस्ट्रेलियाको कुल जनसंख्यामा ५१ प्रतिशत मात्र क्रिस्चियन धर्मालम्बी रहेको नयाँ तथ्यांकले देखाएको छ।
यस पटकको तथ्यांकले कुनै धर्म नमान्नेहरुको उल्लेख्य प्रतिशत रहेको प्रसंग निकै चर्चामा रहेको छ। जसमा कुल जनसंख्याको २९ प्रतिशतले कुनै पनि धर्ममा संलग्न नरहेको जनाएका छन्। जुन विषयले यतिखेर अस्ट्रेलियाको अखबारको मुख्य समाचार बनेका छन्।
अन्य धर्मालम्बीहरुमा बुद्धिस्ट धर्मालम्बी २.४ प्रतिशत र इस्लाम धर्मालम्बीहरू २.६ प्रतिशतमा रहेका छन्।