थाइल्यान्डमा सम्पन्न आइसीएन एमेच्यौर नेचुरल बडीबिल्डीङ प्रतियोगितामा नेपाली खेलाडीले पाँच स्वर्ण र तीन काँस्य पदक जित्न सफल भएका छन्।
अस्ट्रेलियामा छरिएर रहेका बडिबिल्डरको साझा संस्थाका रुपमा रहेको आइसीएन नेपालले प्रतियोगितामा सहभागिता जनाउँदै सफलता हात पारेको हो। प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएका मिलनचन्द्र राई एक्लैले चार स्वर्ण पदक जितेका थिए।
राईले मिस्टर नोभिस फीजिक, मेन्स ओपन टल फीजिक,मेन्स ओभरअल फीजिक र प्रो मेन्स फीजकमा गरी कुल चार स्वर्ण पदक जितेका थिए। यस्तै बडि बिल्डीङतर्फ बिनोद महर्जनले एक स्वर्ण र एक कास्य पदक जितेका थिए।
महर्जनले मेन्स ७५ केजी मुनिको समूहमा र मेन्स ओपन टलमा काँस्य पदक जितेका हुन्। यस्तै सहभागि अर्का खेलाडी दीपक मुनिकारले मेन्स फीटनेशको फीटनेश मोडल र ओपन फीटनेशमा गरी दुई कास्य पदक जितेका थिए। प्रतियोगितामा सहभागि उसु खेलाडी राजु महर्जनले तीस वर्ष माथिको मेन्स फीजिकमा प्रमुख पाँच भित्र आफूलाई उभ्याउन सफल भएका थिए। आइसीएन नेपालले आफ्नो पहिलो सहभागितामा नै पाँच स्वर्ण र तीन काँस्य पदक जित्न सफल भएकोमा प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पदकधारी सन्तोष श्रेष्ठले खुसी ब्यक्त गरे।
यस पटक प्रशिक्षकको भूमिकामा देखापरेका सन्तोषले भने, ‘सबै सहयोगी हातहरुलाई धन्यबाद दिन चाहन्छु। पहिलो सहभागितामा हामीले उल्लेख्य सफलता हात पारेर सबैलाई उपहार टक्रयाएका छौ।’