वर्षाका कारण कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरमाको जमिनमा भ्वाङ गरेको छ। भ्वाङ परेसँगै बिजुलीको पोल समेत ढल्किएको छ। ट्रास्फरमर राखिएका दुई पोल मध्ये एक ढल्ने अवस्थापमा छ भने अको ढल्किएको छ । पोल ढल्किँदा ट्रासमिटरमा समेत क्षति पुगेकाले बाटुलेचौरको केही क्षेत्रमा विद्युत अवरुद्ध बनेको छ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले भ्वाङ पुर्नका लागि महानगरपालिकामा पहल भएको र विद्युत बनाउन पनि विद्युत कार्यालयलाई जानकारी दिइसकेको बताए।
उनले पोखराको खानेपानीको पाइप पनि भ्वाङ परे कै ठाउँमा भएका कारण पोल गाड्न अप्ठेरो भएको बताए।
सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ। घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी घाइते भएका छन्। उनको श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर ज्यान बचाउन सफल भएका छन्।
घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा एवम् भाडावर्तन पुरिएर नष्ट भएको छ।
त्यसै गरि वर्षाका कारण पोखरा–बागलुङ सडकखण्डको पोखरा २५ सुइखेतमा गएको पहिरो गई बन्द भएको बाटो रातिनै डोजरको सहयोगले खुलाई सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको नयाँपुलमा पहिरोले सडक भत्काउँदा एकतर्फी मात्रै सडक सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्यसै गरी गए राति भलपानीको कारणले गर्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदीपुरमा नर बहादुर नेपालीको घर अगाडिको भागमा भ्वाङ परेको छ। गए राति आएको अविरल बर्षासंगै भलपानीले उनको अगाडि पट्टीको भागमा जमिनमा भ्वाङ परेसँगै पिँडीको केहि भाग समेत चर्कीएको छ।
त्यसै गरि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ मा बाढीले एउटा ट्रयाक्टर बगाएको छ। सेती नदीबाट बालुवा बोक्न प्रयोग गरिदै आएको नारायण तिवारीको ग१त २०८८ नम्बरको ट्रयाक्टर बडीघाटबाट बगाएको हो।