सामाजिक सञ्जाल यस्तो प्लेटफर्म हो जुन उपयोग गर्न जान्ने हो भने अवसरको कमी हुँदैन।
कसैले यसबाटै व्यवसाय विस्तार गरेका छन्, कोही इन्फ्लुएन्सर बनेर आम्दानी गरिरहेका छन् भने कसैले आफ्नो नाम र काम यसमार्फत चिनाएका छन्।
यसरी सामाजिक सञ्जाललाई माध्यम बनाएर आफ्नो नाम–काम देखाउनेमध्ये एक हुन् भक्तपुरका रूसेल शिल्पकार।
रूसेलको काम पनि अनौठो छ — एउटै सहर ३६५ दिन अर्थात् एक वर्षसम्म घुम्ने। त्यो सहर चिन्ने। र, आफूले थाहा पाएको जानकारी सामाजिक सञ्जालमार्फत दिने।
'एक दिन अचानक यसरी नै सहर घुम्ने हुटहुटी जाग्यो। घुमेर के हुन्छ, कस्तो हुन्छ थाहा थिएन। तर घुमौं न भन्ने सोच आयो,' २६ वर्षीय रूसेलले भने।
यसलाई उनी 'डिभाइन ड्रिभन' अर्थात् दैवीशक्तिबाट सञ्चालित सोच भनेर व्याख्या गर्छन्।
यही सोच अनुसार उनी २०८० वैशाख १ गतेबाट आफ्नै सहर भक्तपुर घुम्न थाले। '३६५ डेज अफ एक्सप्लोरिङ भक्तपुर' नामक इन्स्टाग्राम पेज बनाए। त्यही पेजमार्फत आफूले देखे–भेटेका सम्पदाबारे जानकारी दिए।
पहिलो दिन उनले बिस्काः जात्राको रथको फोटो खिचेर इन्स्टाग्राममा हाले। दोस्रो–तेस्रो दिनमै उनलाई महसुस भयो, भक्तपुरमै बस्ने भए पनि उनले यो सहर राम्ररी चिनेकै छैनन्।
यसपछि घुम्ने रनाहा झन् बढ्यो।
भक्तपुर घुम्दा रूसेलले प्रमुख ठाउँहरूभन्दा पनि स–साना गल्ली, चोक रोजे। त्यहाँ देखे–भेटेका सम्पदा, मूर्ति, वास्तुकलाको फोटो, भिडिओ खिचे। जानकारी बटुले। तिनकाबारे सोधखोज र किताब अध्ययन गरे।
सुरूमा फोटोमा क्याप्सन राख्दै इन्स्टाग्राममा पोस्ट गर्ने उनलाई बिस्तारै मानिसहरूले रिल बनाउन सुझाए। उनले रिलमा विवरण लेखेर पोस्ट गरे। मानिसहरूले आफ्नो आवाजसहित हाल्न भने। घुम्न थालेको १४३ औं दिनपछि रिलमा आफ्नो आवाज हालेर पोस्ट गरे। उनी रिल वा पोस्टमा आफ्नो अनुहार भने देखाउँदैनन्।
त्यसैले रिलमा आवाज नहालुन्जेल '३६५ डेज अफ एक्सप्लोरिङ भक्तपुर' पेजमार्फत सहर चिनाउने र घुमाउने व्यक्ति रूसेल हुन् भन्ने उनीनिकट केही मानिसलाई मात्र थाहा थियो। आवाज आएपछि भने व्यक्तिगत रूपमा चिन्नेहरूले पक्डिहाले। अनि 'यो तिमी पो हो' भनेर सोध्न थाले।
त्यसरी सोध्नेमा उनको आफ्नै परिवार पनि थियो।
'पैसा नआउने कस्तो काम गरिरहेको छस् भन्लान् भनेर घरमा भनेको थिइनँ। तर थाहा पाएपछि राम्रो प्रतिक्रिया दिनुभयो। मलाई काम गर्न ऊर्जा थपियो,' उनले भने।

३६५ दिन भक्तपुर घुमाइ सुरू गर्नुअघि रूसेल एउटा एनजिओमा युवा परिचालकका रूपमा काम गर्थे। साँझ पाँच बजे छुट्टी भएपछि भक्तपुरका गल्ली डुल्थे। यो यात्रा थालेको पाँच महिनापछि एनजिओको काम सकियो।
जागिर नभएपछि केही समय उनको काम भक्तपुर घुम्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने मात्र भयो। त्यही क्रममा उनले 'बाखं न्यने वा' नामक सम्पदा संस्कृतिको क्षेत्रमै काम गरिरहेको संस्थामा अनुसन्धान अधिकारीका रूपमा काम पाए।
'त्यसपछि म बिहान बिहान भक्तपुर घुम्न जान थालेँ। बेलुका कामबाट फर्किएपछि बिहान खिचेको फोटो, भिडिओ सम्पादन गरेर, त्यसमा टेक्स्ट र आफ्नो आवाज हालेर पोस्ट गर्थेँ। त्यति गर्दा रातको १२–१ बजिसकेको हुन्थ्यो,' उनले भने।
रूसेलले सुरूमा युवालाई लक्ष्य गरेर इन्स्टाग्राम पेज मात्र बनाएका थिए। बिस्तारै उनले भक्तपुरका रैथाने र बुढापाकालाई समेत यहाँका सम्पदाबारे जानकारी नभएको महसुस गरे। अनि घुमेको १६९ औं दिनदेखि प्रायः सबै उमेर समूहले चलाउने फेसबुकमा पनि पोस्ट गर्न थाले।
'मैले एकदमै सोचेर, योजनाबद्ध रूपमा काम थालेको थिइनँ। एउटा जिज्ञासाबाट सुरू भएको काम बिस्तारै विकसित हुँदै गएको हो,' उनले भने।
रूसेलले २०८१ भदौ ९ गते आफ्नो यात्राको ३६५ दिन पूरा गरे। वर्षमा ३६५ दिन हुने भए पनि हरेक दिन उनले सामाजिक सञ्जालमा पोस्ट गरेनन्। किनभने सधैं चाखलाग्दो खुराक भेटिँदैन थियो।
हरेक दिन पोस्ट नगर्ने भए ३६५ दिन कसरी भयो त — यो प्रश्नले रूसेललाई सताउँथ्यो।
तर जबाफ पनि थियो — ३६५ दिन भक्तपुर घुम्नुको अर्थ ३६५ वटा रोचक सम्पदा भेट्टाउनु हो। न कि ३६५ दिन लगातार घुमेर सामाजिक सञ्जालमा प्रमाण दिनु!
'कहिले एकै दिन दुइटा भेटिन्थ्यो। कहिले दुई–तीन केही भेटिँदैन थियो। त्यसो हुँदा किन पागलझैं हिँडिरहेको छु भनेर दिक्क लाग्थ्यो,' उनले भने।
यी कारणबाहेक आफ्ना अरू कामले नभ्याएर रूसेलले बीचमा एक महिना जति त केही पोस्ट गरेनन्। त्यस बेला उनी एउटा स्कुलको कार्यक्रम संयोजक थिए। कहिले कामको चापले भ्याएनन्, कहिले पैसा पनि नआउने काममा समय मात्र किन खर्चिनु भन्ने जस्तो पनि लाग्यो।
उनले भने, 'फेरि यसको महत्त्व महसुस भयो र निरन्तरता दिएँ।'
३६५ दिन भक्तपुर घुम्ने क्रममा रूसेलले दुइटा विषयवस्तुलाई आफ्नो विशेष चासोको विषय बनाएका थिए।
पहिलो, आफूले कहिल्यै नदेखेको सम्पदा।
अर्को, हरेक दिन देखिएको तर फरक लेन्सबाट बुझेका सम्पदा।
कहिले स–साना कुराले पनि उनलाई आश्चर्यचकित बनाउँथ्यो।
जस्तै — भक्तपुरको यात्रा सुरू गरेको दुई–तीन दिनमै उनी पोटरी स्क्वायर पुगेका थिए। त्यहाँ वरपरका घरको वास्तुकला र काठका बरन्डा उनलाई नौलो लाग्यो।
कतिपय जानकारी उनले भिडिओ वा फोटो पोस्ट गरेर सामाजिक सञ्जालमा हालेपछि पनि पाएका छन्।
जस्तै — भक्तपुरमा आइभोरी (हात्तीको दाँतको) झ्याल भएको जानकारी कसैले उनको पोस्टमा कमेन्ट गरेपछि थाहा पाएका थिए।
'कतिपय जानकारी यो यात्रा सकिएपछि पनि पाइरहेको छु। नयाँ नयाँ सम्पदा भेटिरहेको छु,' उनले भने।

यो ३६५ दिने यात्रा सकिएपछि रूसेल पहिलेझैं केही भेट्छु भन्ने हुटहुटीले भक्तपुर घुम्दैनन्। साँझ–बिहान बजारतिर टहलिँदा उनका आँखा कहिले मन्दिरका बुट्टाहरूमा कुदिरहेका हुन्छन्, कहिले वास्तुकलामा।
उनी भक्तपुरमा पहिले गरिएका अनुसन्धानात्मक लेख र किताबहरू पनि पढिरहेका छन्। आफूले थाहा पाएका जानकारी धेरै मानिससम्म पुर्याउने तरिकाको खोजी जारी छ।
'विद्वानहरूले भक्तपुरबारे लेखेर जानुभयो। तर यहीँका स्थानीयमा त्यो जानकारी पुगेको छैन। त्यसलाई सबैसम्म पुर्याउन सामाजिक सञ्जाललाई कसरी माध्यम बनाउन सकिन्छ भनेर खोजबिन गरिरहेको छु,' उनले भने, 'हुन त भक्तपुरको अर्को ३६५ दिने शृंखला गर्यो भने थप सामग्री भेटिन्छन्। तर त्यो ऊर्जा र पागलपन अब मसँग छैन। त्यसैले अर्को यात्रा चाहिँ गर्दिनँ होला!'
२०७२ सालको भुइँचालोअघि नै यसरी भक्तपुर घुमेको भए अझ धेरै कुरा थाहा हुन्थ्यो होला भन्ने पनि रूसेललाई लाग्छ। भक्तपुर अझै 'अथेन्टिक' थियो होला भन्ने उनी कल्पना गर्छन्।
'भुइँचालोमा कति परम्परागत घर जिर्ण भए, भत्किए। त्यसपछि यहाँका रैथाने मानिस यत्रतत्र छरिए। मन्दिरहरू छन् तर पूजा गर्ने मानिस बस्दैनन्। त्यसैले कति मन्दिर संग्रहालयका सामग्री जस्तै छन्। कुनै पनि मूर्त सम्पदामा पूजाआजा जस्तो अमूर्त कार्यहरू भएनन् भने त्यो संग्रहालय सामग्रीमा सीमित हुन्छन्। भूकम्पले खास असर पारेको ती कुरा हुन्,' उनले भने।
रूसेल र उनका केही साथीहरू मिलेर 'हेरिटेज अलर्ट' नामक इन्स्टाग्राम पेज पनि बनाएका छन्। यसबाट उनीहरू सम्पदा क्षेत्रमा भएका कुनै पनि गलत कामबारे 'अलर्ट' गराउँछन्। सम्पदा क्षेत्र कसरी सुरक्षित बनाउन सकिन्छ भनेर युनेस्को र विभिन्न सरकारी निकायसँग छलफल र कुराकानी पनि गर्छन्।
रूसेलको अर्को काम भनेको 'रिलिभ एन्ड रिभाइभ भक्तपुर' भनेर हराइसकेका सम्पदाबारे अध्ययन–अनुसन्धान गर्नु हो। तिनको दस्तावेजीकरण गर्दै सामाजिक सञ्जालमार्फत स्थानीयलाई सचेत बनाउने उनको उद्देश्य छ।
दुई महिनायता उनी सक्रिय रूपमा 'हेरिटेज वाक' अर्थात् सम्पदा यात्रा पनि गराइरहेका छन्। ३६५ दिने यात्रामा भेटिएको हैमा प्वाः (हैमा द्यः) बारे आफ्नो स्नातकोत्तरको थेसिस लेख्ने उनको योजना छ। नेवारी भाषामा प्वाः भनेको प्वाल हो। भक्तपुरका परम्परागत घरहरूमा पाइने हैमा प्वाः माथितिर त्रिभुज, तल आयात आकार बनाइएको हुन्छ र त्यसकै बीचमा प्वाल हुन्छ। यो तन्त्रमन्त्र र दैवीशक्तिसँग सम्बन्धित छ।
त्यसबाहेक 'अनकभर्ड भक्तपुर' भनेर यहाँका वास्तु, संस्कृति, संगीत, नाच लगायत विविध सम्पदाको अभिलेख राख्ने पनि रूसेलको दीर्घकालीन योजना छ।
'सबभन्दा ठूलो कुरा, म आफूले जे गरिरहेको छु, त्यसलाई निरन्तरता दिनु नै हो,' रूसेलले भने, 'मानिसहरू भविष्यका लागि काम गर्ने भन्छन्। म भने आजका मानिसलाई सचेत र जागरूक बनाउन काम गरिरहेको छु। यो पुस्तालाई सचेत बनाउन सकिएन भने हाम्रो धेरै सम्पदा सकिन्छन्। आज जोगिएकै कुरा भविष्य हुने हो।'