काठमाडौं जिल्ला अदालतले निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ।
मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरेको थियो।
पक्राउ परेका निकोलसलाई आज अदालतमा म्याद थपका लागि लगिएको थियो। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूरमा म्याद थप गरिएको हो।
उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरे सहितको टोली परिचालन गरिएको थियो।
भुसालले पत्रकार सम्मेलन गर्दै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा विभिन्न जातजाति समुदाय तथा सर्वसाधारणबीच रहेको सुमधुर सम्बन्धमा प्रतिकूल असर पर्ने गरी अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ।
यसअघि उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको अभिलेखबाट देखिएको जनाएको छ।