चर्चित फुटबल प्रशिक्षक जोसे माउरिन्होका बुवाको ७९ वर्षमा निधन भएको छ। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्होका बुवा फ्लेक्सको मंगलबार पार्चुगलस्थित सेतुबल शहर, राजधानी लिस्बनदेखी २५ माइल दक्षिणमा निधन भएको स्थानीय पत्रिकाले जनाएको हो।
उनको निधन के कारणले भएको हो, यसको तथ्य खुल्न सकेको छैन्। माउरिन्होका बुवा पनि फुटबल खेलाडी थिए। उनी भिटोरिया सेतुबलमा गोलकिपरको भूमिकामा खेल्ने गर्थे। उनी पछि क्लबको प्रशिक्षक र निर्देशक पनि बन्न पुगे। उनले १९७२ मा पोर्चुगलको राष्ट्रिय टोलीमा सम्मिलित हुने मौका पाएका थिए।
फ्लेक्स १९६५ मा पोर्चुगिज कप जितेको टोलीका सदस्य थिए। जोसे माउरिन्हो अहिलेको अवस्थामा आउनुमा उनको बुवाको ठूलो हात रहेको बताइन्छ। माउरिन्होलाई सानोमा फुटबल सिकाउनेदेखि राम्रो ट्रेनिङ दिलाउने सम्म उनको हात थियो।
इङ्ल्यान्ड, पोर्चुगल, इटाली र स्पेनका क्लबहरूमा प्रशिक्षण गर्दा ती देशका क्लबहरुलाई घरेलु लिगको उपाधि दिलाउने र एफसी पोर्टो र इन्टर मिलानलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका मोरिन्होले बुवाको सम्झनामा दुवैले खिचेको तस्बिर इन्स्टाग्राममा सेयर गरेका थिए। तर, उनले कुनै प्रतिक्रिया जनाएका छैनन्। माउरिन्होले काम गरेको थुप्रै पूर्व क्लबहरुले माउरिन्होसँग संवेदना प्रकट गरेका छन्।