बुटवल उपमहानगरपालिका वडा नं. ८ का टिकाराम घिमिरे सोमबार दिउँसो दुवै हातले वैशाखी छोपेर डिभिजन सडक कार्यालय परिसरमा एक्लै हिड्दै थिए। सेतो सफा पहिरन लगाएका घिमिरेको अनुहारमा उनको सेतो पहिरनको भन्दा झनै चमक थियो ।
जनआन्दोलन २०४६ का घाईते घिमिरे शारीरिक रुपमा अशक्त भए पनि उनीमा छुट्टै जोश र जाँगर भरिएको उनको हिडाईको रफ्तारबाट प्रष्ट देखिन्थ्यो। दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि आईतबारदेखि वितरण गरिएको मतदाता परिचयपत्र लिन घिमिरे आफैं वैशाखी टेकेर जाँदै थिए।
‘दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मत हाल्न आतुर छु त्यसैले परिचय पत्र लिन आफैं मतदान केन्द्रमा आएँ,’ घिमिरेले सेतोपाटीसँग भने, ‘यही अधिकारका लागि यस्तो शरीर भएर पनि बाँचेको छु।’
नेकपा एमालेका थुप्रै नेतालाई भूमिगतकालमा सेल्टर दिएका घिमिरे नेकपा एमालेका हरेक राजनीतिक कार्यक्रममा मात्र होईन आन्दोलनमा तन्नेरी युवाहरु सरह शसक्त ढंगले सहभागी हुन्छन्।
प्रहरीले कुटी कुटी शारीरिक रुपले अशक्त बनाएका घिमिरेको एउटै गुनासो छ ‘नेपाली बाम राजनीतिका नाममा कतिपयले बाटो बिराउँदा समस्या उत्पन्न भयो ,यसको ब्यवस्थापन युवा पुस्ताले गर्नुपर्छ।’
बुटवल ११ योगिकुटीकी अस्मिता पाण्डेलाई पनि अबको दुई दिन छिटो बितोस् भन्ने लागेको छ। निर्वाचनमा पहिलो पटक मत हाल्न आतुर उनी अहिलेको निर्वाचन पहिलो मात्र होईन विशेष भएको बताउँछिन्। ‘अहिलेसम्म भएका निर्वाचनहरु निश्चित उद्धेश्य प्राप्तिको लागि भएका थिए होला तर अहिलेको निर्वाचनबाटै हामी हाम्रो क्षेत्रको भविश्यको गोरेटो आफैं बनाउन सक्नेछौ,’ उनले सेतोपाटीसँग भनिन्, ‘मतदान गर्ने अवसर मेरो पहिलो भएजस्तै संविधान निर्माणपछिको पहिलो र अधिकार सम्पन्न स्थानीय तह निर्माण गर्ने निर्वाचन भएकोले यो निर्माण सबैको लागि महत्वपूर्ण छ।’
टिकाराम र अस्मिता त प्रतिनिधि पात्र मात्र हुन्। दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा मतदान गर्न मतदाताहरू अत्यन्त आतुर देखिएका छन्।
निर्वाचनमा भाग लिन केही दिन मात्र बाँकि रहँदा बितरण शुरु गरिएको मतदाता परिचयपत्र लिन मतदान केन्द्रहरुमा मतदाताको भीड लाग्ने गरेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार सोमबारसम्म ७० प्रतिशत बढी मतदाताले आफ्नो परिचयपत्र लगिसकेका छन्।
आईतबारबाट सूरु भएको परिचयपत्र बितरण मंगलवार सम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले जनाएको छ ।
मतदाता परिचय पत्र लिन आउने मतदाताहरुको उत्साह देख्दा पहिलो चरणमा भन्दा बढी मत दोस्रो चरणको निर्वाचनमा खस्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।
दोस्रो चरणमा प्रदेश नं १ प्रदेश नं ५ र प्रदेश नं ७ गरी ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधवार निर्वाचन हुँदैछ।