करिब साढे सात महिना फुटबल गतिविधिबाट बाहिर रहेको लिग च्याम्पियन क्लब थ्रीस्टार पुनः मैदानमा फर्किने भएको छ।
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) र थ्रीस्टारबीच डेढ करोड रुपैयाँ तथा ३ अन्तर्राष्ट्रिय खेल खेलाउने विषयमा सहमति बनेपछि पाटनको क्लब फुटबल गतिविधिमा फर्किन लागेको हो।
एन्फा पदाधिकारीको लापरवाहीका कारण थ्रीस्टारले गत वर्ष एएफसी कप क्वालिफायर खेल्न पाएको थिएन्। एसियाली फुटबल महासंघ (एएफसी)ले नेपालको लिग च्याम्पियन क्लबलाई प्रतियोगितामा सहभागी गराउन ४ पल्ट पत्राचार गरे पनि एन्फा पदाधिकारीले कुनै पनि इमेलको उत्तर नदिएपछि थ्रीस्टार दोस्रो चरणको क्वालिफायर खेल्न बञ्चित भएको थियो।
थ्रीस्टारको स्थानमा एएफसीले मगाेलियाकाे इर्चिम एफसीलाई समावेश गराएको थियो। मंगोलियामा भएको पहिलो चरणको छनोटमा थ्रीस्टारले मंगोलियाको च्याम्पियन क्लब इर्चिमलाई २–० ले पराजित गरेको थियो।
‘फुटबलको गतिविधिबाट लामो समय बाहिर बस्दा देशमा फुटबलको महोल बिग्रिएको महसुस भयो। त्यसैले फुटबल जोगाउन पनि हामीले एन्फाको प्रस्ताव स्विकार गरेका हौं,’ थ्रीस्टार क्लबका महासचिव सञ्जीव सिल्पकारले सेतोपाटीसँग भने।
उनका अनुसार एन्फासँग क्षतिपूर्तीबापत डेढ करोड रुपैयाँ क्लबले पाउने विषयमा सहमति बनेको छ। ‘एन्फाले क्षतिपूर्तीबापत ३ वटा अन्तर्राष्ट्रिय वा मैत्रीपूर्ण खेलमा पनि क्लबलाई समावेश गराउने प्रस्ताव गरेको छ,’ उनले भने।
थ्रीस्टारले एन्फा पदाधिकारीको गैरजिम्मवार पूर्ण कार्यको विरोध गर्दै २०१६ को नोभेम्बरमा फुटबलको सबै गतिविधिमा भाग नलिने घोषणा गरेको थियो। त्यतिबेला पत्रकारसम्मेलन गर्दै क्लबले क्षतिपूर्तीबापत ६ करोड रुपैयाँ माग गरेको थियो।
साढे ७ महिनाको अवधिमा थ्रीस्टारले मोफसलमा आयोजना भएको कुनै प्रतियोगितामा सहभागिता जनाएन। यस्तै, आफ्नै क्लबका दिंवगत पूर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठको नाममा एन्फाले वार्षिकरुपमा आयोजना गर्ने ललितस्मृति युथ–१८ फुटबल प्रतियोगितामा यस वर्ष भाग लिएको थिएन्।
‘हामी सहमतिमा पुगिसकेका छौं। राष्ट्रिय खेलकुद परिषद्को मध्यस्थतामा मेलमिलाप गराउने भनेका कारण पर्खेर बसेका छौं’, एन्फा कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने। उनले क्षतिपूर्तीबापत क्लबलाई दिने रकम कुन शिर्षकमा गर्ने भनेर कुराकानी भइरहेको बताए।
‘यसका लागि अलग्यै बजेट हामीसँग छैन। कसरी मिलाउने भनेर परिषद्सँग पनि वार्तामा छौं, उनले भने। एन्फा र थ्रीस्टारबीचको विवाद २ सातामा मिलाउने गृहकार्य परिषद्ले गरिरहेको छ।