उहिल्यैको कुरा हो।
इस्लाम धार्मिक मान्यताअनुसार पृथ्वीका मानिसलाई अनुशासनमा राख्न अल्लाहले नियम बनाउँदै गए। आफू पृथ्वीमा आएनन्, दूतहरूलाई पठाए। अल्लाहको शैली कस्तो भने, नियम सिकाउन आफू कहिल्यै पृथ्वीमा नआउने। दूतमार्फत् अनुशासन सिकाउन पठाउने।
उनी सबै नियम एकैचोटि आकाशमा खन्याइदिन्थे। दूतहरू आवश्यकताअनुसार ती नियम पृथ्वीमा फैलाउँथे। यसरी अल्लाहले एक लाख चौबिस हजार दूत पठाए। त्यसमध्ये अन्तिम दूत हुन्, पैगम्बर मोहम्मद सल्ललल्लाहु अलैहे वस्सलम। अर्थात् हजरत मोहम्मद। पैगमको अर्थ हुन्छ, खबर। खबर पु¥याउने भएकाले मोहम्मद पैगम्बर हुन्।
मोहम्मदले अल्लाहका नियम पृथ्वीमा ल्याउन थाले। कहिले आवाज बनेर, कहिले अदृश्य रुपमा रुखका बोक्रा वा ढुंगामा खोपेर त कहिले मान्छेको भेषमा सन्देश फैलाए। उनी ठाउँ–ठाउँमा जान्थे, आफू ईश्वरको दूत भएको र अनुशासन सिकाउन आएको बताउँथे।
तर, मान्छेले पत्याएनन्। उनीहरूले मोहम्मदलाई चुनौती दिए, ‘तिमी ईश्वरको दूत हौ भन्ने के विश्वास? यदि हौ भने आफूलाई प्रमाणित गर। हाम्रो अगाडि यस्तो चमत्कार गरेर देखाउ ताकि हामी तिमीलाई ईश्वरको दूत मान्न तयार हुन्छौं।’
यसरी उनी जति ठाउँमा पुगे, अविश्वास जनाउनेहरूका अगाडि चमत्कार गरेर देखाइदिए। चमत्कारपछि सबैले उनलाई सम्मान दिन थाले। अल्लाहले पठाएका नियम पनि मान्छेले पछ्याउँदै गए।
यही क्रममा उनी अरबी क्षेत्रकै एक ठाउँमा सन्देश फैलाउँदै पुगेका थिए, मान्छेहरुले पहिलेजस्तै अविश्वास जताए। चमत्कार गरेर देखाउने चुनौति त्यहाँ पनि आइपर्यो।
मोहम्म्दले एउटा औंला ठड्याएका के थिए, पूर्ण आकारको चन्द्रमा टुक्रिएर आधा बन्यो। यो चमत्कारको खबर संसारभर फैलियो। भारत वर्षका भोज नामका राजासम्मले यो खबर सुनेर भेट्न पुगे। र सोधे, ‘तपाईंले नै हो यो चन्द्रमा टुक्र्याउनुभएको?’
‘होइन,’ मोहम्मदले भने, ‘मैले त संकेत मात्र दिएको हुँ, सब काम अल्लाहले गर्नुभएको।’
यसरी उनले संसारभरका सबै मान्छेलाई आफू दूत भएको प्रमाणित गरेर अल्लाहको सन्देशलाई नियम बनाए। कुरान त्यही अन्तिम सन्देशले भरिएको धार्मिक ग्रन्थ हो। त्यसपछि इस्लाममा न कोही पैगम्बर आएका छन्, न कुनै धार्मिक ग्रन्थ लेखिएको छ।
यो त भयो किंवदन्ती।
इस्लाम धर्ममा अर्धचन्द्रमाको महत्व यही किंवदन्तीमा अडेको छ। नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समीम अर्ध चन्द्रमाले इस्लाम धर्ममा ठूलो अर्थ राख्ने बताउँछन्।
अरबी क्यालेन्डरअनुसार हरेक महिना चन्द्रमाको यस्तै आकारबाट सुरु हुन्छ। समग्रमा भन्दा इस्लाम धर्मको संकेत भनेकै अर्ध चन्द्रमा हो। चन्द्रमामाथि एउटा पाँच कुने तारा पनि हुन्छ, जसले इस्लाम धर्मका पाँच स्तम्भलाई बुझाउँछ।
चाडपर्वहरुले मानिसलाई खुसी दिन्छन्। हरेक धर्मको मूल सार शान्ति, समानता हुन्। इस्लाम धर्ममा दुई यस्ता पर्व छन्, जसमध्ये एउटाले अनुशासनको कुरा गर्छ भने, अर्कोले खुसी। यी दुई पर्व हुन्, रमजान र ईद। र, यी दुवै पर्वसँग अर्ध चन्द्रमाले ठूलो भूमिका खेल्छ।
रमजान आफैंमा चाड होइन। यो अरबी क्यालेन्डरअनुसार नवौं महिना हो, विक्रम संवतको पुस महिनाजस्तै। अरबी क्यालेन्डरको आठौं महिनाको अन्तिम दिन आकाशमा अर्ध चन्द्रमा देखिएपछि रमजानको अनुशासन मान्नुपर्ने हुन्छ। इस्लाम धर्ममा पाँच स्तम्भ छन्– व्रत बस्नु, इश्वरका हरेक वचन स्वीकार गर्नु, दान गर्नु, नमाज पढ्नु र हज गर्न मक्कामदिना जानु। हज गर्ने समय ईद–ऊल–अज्हामा पर्ने भएकाले बाँकी चार स्तम्भ रमजान महिनामा अनिवार्य छ, गाह्रो–साँघुरोबाहेक। सूर्योदयअघि नै सेहरी (बिहानको खाना) खाइसकेर सूर्यास्तसम्म दिउँसोभरी पानी त के थुकसमेत निल्न मिल्दैन। वर्षभरीको कमाईबाट वचत गरिएको पैसा, सुन, चाँदीको साढे दुई प्रतिशत दान गर्नैपर्ने मान्यता हुन्छ। दिनको पाँचपटक रमजान पढ्नैपर्छ।
यस्तो कडा अनुशासनको पर्व अर्ध चन्द्रमा हेरेर सुरु हुन्छ, अर्को चन्द्रमा नदेखिएसम्म। अर्को महिना उस्तै चन्द्रमा देखिएपछि रमजान सकिन्छ र ईद सुरु हुन्छ। ईद कहिले ३० औं दिनमा त कहिले दसौं महिनाको पहिलो दिनमा पर्छ।
रमजान र ईदको समान विशेषता के छ भने क्यालेन्डरमा यसको मिति पहिल्यै तय हुँदैन। महिनाको अन्तिम दिन मात्र पत्ता लाग्छ। किनकि, यसका लागि चन्द्रमा देखिनैपर्छ। महिनाको २९ औं या ३० औं दिनमा चन्द्रमा देखिएपछि मात्र रमजान र ईद सुरु हुन्छ। यदि दुवै दिनमा चन्द्रमा देखिएनन् भने स्वतः महिनाको पहिलो दिनबाट रमजान सुरु हुन्छ। ईद पनि स्वतः नयाँ महिनाको पहिलो दिन नै मनाइन्छ।
जामे मस्जिदका अब्दुल समीमका अनुसार एकचोटी नेपालमा दुई दिन ईद मनाइएछ।
काठमाडौंमा दुई मुख्य मस्जिद छन्– काश्मिरी मस्जिद र नेपाली जामे मस्जिद। जामेको अर्थ ठूलो भन्ने हुन्छ। नेपाली जामे मस्जिद नेपालकै ठूलो मस्जिद हो। त्यसैले अचेल नेपाली जामे मस्जिदकै निर्णयलाई आधिकारिक मानिन्छ।
‘१५/१६ वर्षअघिको कुरा हो,’ समीमले भने, ‘काश्मिरी मस्जिदले एउटा दिन र नेपाली जामे मस्जिदले अर्को दिनलाई ईदको घोषणा गर्यो। त्यसपछि हामीले सल्लाह गरेर ईदको घोषणा गर्ने गरेका छौं। यसपालि ईदको साँझ पनि हामीले एक–अर्कासँग सल्लाह गर्यौं र सरकारलाई खबर पठायौं। र, विदा घोषणा भयो।’
यसपालिको रमजान महिना २९ औं दिनको थियो। यो महिना कहिले ३० दिनको पनि हुन्छ। त्यो दुई दिन ईद मनाइएको महिना ३० दिनको थियो।
‘२९ औं दिनमा चन्द्रमा हेर्ने गरिन्छ,’ समीमले भने, ‘२९ औं दिनमा चन्द्रमा देखियो भने त्यही दिनदेखि रोजा सकिन्छ। देखिएन भने एक दिन पर धकेलिन्छ। यदि २९ औं दिनमा चन्द्रमा देखिएन भने ३० औं दिनमा हेरिराख्नु जरुरी पर्दैन। किनकि, नयाँ महिनाको पहिलो दिन स्वतः ईद पर्छ। उदाहरणका लागि– यो महिना ३० दिनको थियो र हिजो चन्द्रमा देखिएको थिएन भने भोलि स्वतः ईद पथ्र्यो। आज चन्द्रमा नदेखिए पनि ईद रोकिँदैन।’
समीमका भनाइमा कहिलेकाहिँ २९ औं दिनमा चन्द्रमा नदेखिँदा आफू नजिकको भूगोलको खबरलाई आधिकारिक मान्ने गरिन्छ। ‘जस्तोः हामीले जामे मस्जिदबाट चन्द्रमा नदेखिएपछि नयाँबजारको खबरलाई आधिकारिक मान्यौं,’ समीमले भने, ‘यदि नेपालको कुनै पनि ठाउँबाट देखिएको थिएन भने नजिकको भूगोल अर्थात् भारतलाई आधिकारिक मान्छौं। साउदी अरब, दुबई, कतारलाई मान्दैनौं। तर, हतार गर्दैनौं। सकेसम्म नेपालबाटै देखिएको चन्द्रमाको आधारमा ईद घोषणा हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। जति प्रयास गर्दा पनि नेपालबाट देखिएन भने भारत, त्यो पनि भएन भने त्यसपछिको नजिकको देश पाकिस्तान या बंगलादेशको खबर नै आधिकारिक मानिन्छ र ईद घोषणा हुन्छ।’
१५/१६ वर्षअघि भएको के रहेछ भने जामे मस्जिदले नजिकको भूगोल भएको नाताले भारतको खबरलाई आधिकारिक मानेछ भने काश्मिरी मस्जिदले इस्लामिक देश भएकाले पाकिस्तानको खबरलाई आधिकारिक मानेर ईद घोषणा गरेछ। त्यसैले काठमाडौंभित्र पनि फरक–फरक दिनमा ईद घोषणा भयो।
अहिले सूचना–प्रविधिको विकासले गर्दा पहिलेजस्तो समस्या नहुने समीम बताउँछन्। पाकिस्तानजस्ता शक्तिसम्पन्न इस्लामिक देशले हवाईजहाजको सहायताले बादलमाथि पुगेर चन्द्रमा हेर्छन् र ईद घोषणा गर्छन्। फोन, इन्टरनेटको सहायताले त्यो खबर चाँडै फैलिइहाल्छ। अझ अहिले त फोनको सुविधाका कारण नेपालको जुनसुकै कुनाको खबर पनि जामे मस्जिदसम्म आइपुगिहाल्छ। पहिले–पहिले फोन, इन्टरनेटलगायत सुविधा नहुँदा ईदको खबर पु¥याउन मध्यरातसम्म दौडधुप गर्नुपरेको समीमको अनुभव छ।
आइतबार साँझ समीमले नेपाली जामे मस्जिदको छतबाट आकाशतिर हेरे। बादलले ढाकेको आकाश केहीबेर नियाले। जति आँखा तन्काउँदा पनि अर्ध चन्द्रमा देखिएन। केहीबेरमै नयाँबजारबाट आकाश चियाउने मुस्लिमहरुले फोनमा जानकारी दिए, ‘चन्द्रमा देखियो।’
कसैले चन्द्रमा देख्यो भन्दैमा विश्वास गरिहाल्न नमिल्ने रहेछ। समीमले सोधे, ‘पक्का हो? साइडमा कोही छ कि छैन?’
‘साइड’मा कोही छ कि छैन सोध्नुको कारण रहेछ। समीमका अनुसार चन्द्रमा हेर्दा एक जनाको कुरालाई पत्याउन मिल्दैन। जसले चन्द्रमा हेरेको हुन्छ, उसको कुरा जाँच्न पछाडि दुईजना हुनैपर्छ। तर, ती दुईजना यस्ता व्यक्ति हुनुपर्छ, जसले मद्यपान गरेको हुनुहुँदैन। धर्मप्रति कटिबद्ध हुनुपर्छ। समीम भन्छन्, ‘हामीले सबै कुरा सोध्दा विश्वासिलो लागे मात्र ईद घोषणा गर्छौैं।’
तर, अब सूचना–प्रविधिले प्रश्न सोधिराख्नु उति जरुरी छैन। समीमले पहिलो प्रश्न सोध्नेबित्तिकै उताबाट बोले, ‘हामीले फोटो पनि खिचेका छौं, मेसेन्जरमा पठाइदिन्छौं।’
समीमले मेसेन्जर हेरे, जसमा चन्द्रमा देखिएको थियो। केहीबेरमा बनेपाका मुस्लिमहरुले पनि चन्द्रमा देखिएको जानकारी गराए। समीमले तुरुन्तै काश्मिरी मस्दिमा फोन गरे। सूचना–प्रविधिले उनीहरुलाई पनि सजिलो बनाएको थियो। दुवै पक्षले साँझ साढे सात बजे ईदलाई स्वागत गर्दै एक–अर्कालाई शुभकामना दिए, ‘चाँद मुबारक।’
दुवै पक्षले आफूनजिकका मस्जिदहरुलाई आइतबार ईद भएको जानकारी गराए। शुभकामना साटासाट गरे।
यसरी ईद घोषणा भएपछि २९ औं दिनदेखि नै खानेकुरा, नयाँ कपडा, उपहार किनेर ईद मनाउन तम्तयार रहेका मुस्लिमहरुमा एक्कासी खुसीको बहार छाउँछ। १६÷१७ घन्टासम्म पानी पनि नपिई बस्न ताकत दिने अल्लाहलाई धन्यवाद दिइन्छ।
ईदको अर्थ आफैंमा खुसी हो। मुलतः तीन दिन मनाइने ईद घोषणा हुने लगत्तै सेवाईको व्यापार ह्वात्तै बढ्छ। यो यस्ती खान्की हो, ईदजस्ता पर्वमा मुस्लिमका भान्छामा सेवाई पाक्छ पाक्छ। सेवाईजस्तै खजुर पनि अनिवार्यजस्तै खान्की मानिन्छ। परिवारका सबै सदस्य लहरै बसेर सँगै खाना खानु ईदको साँझको विशेषता हो।
‘ईदभन्दा पनि म रमजानलाई जोड दिन्छु, किनकि ईद रमजानकै निरन्तरता हो,’ समीमले भने, ‘हुन त धर्मलाई केहीसँग पनि तुलना गर्न मिल्दैन। ईद परीक्षा सकिएको दिनको खुसी हो। रमजानलाई परीक्षा भन्न सकिन्छ। यहाँ पाँचै स्तम्भ मान्नुपर्ने नियम छ तर, इश्वरले कसैलाई बाध्य पार्नुभएको छैन। नियत बुझेर भोलि त्यसको लेखाजोखा हुन्छ।
युद्धमा जानुअघि सेनालाई जसरी अभ्यास गराइन्छ, रमजानलाई खराब विचारसँग युद्ध गर्ने अभ्यास भन्न सकिन्छ। जसका लागि पानी पनि नपिई आफूलाई तयार पारिन्छ।’
ईद–ऊल–फित्रमध्ये फित्रको अर्थ हुन्छ, दान। तर, यो दान रमजानका बेला गरिने दानजस्तो होइन। यो शरीरबराबरीको दान हो। यसपालि जामे मस्जिदले ईदका दिन सय रुपैयाँ दान तोकेको थियो। यो साढे दुई किलो गहुँबराबरीको रकम हो।
साउदी अरबजस्ता धनी देशमा साढे दुई किलो किसमिस बराबरीको दान गर्नुपर्ने मान्यता छ। समीमका अनुसार अरु देशमा भने आर्थिक हैसियतअनुसार वर्गिकरण हुन्छ– किसमिस, खजुर, जौ र गहुँमा। गहुँ कमजोर आर्थिक स्थिति भएकाहरुको दानमा पर्दो रहेछ। ‘हामी पनि अर्को वर्षदेखि यी चारै खानेकुराको आधारमा वर्गिकरण गर्ने निर्णयमा पुगेका छौं,’ समीमले भने।
तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी