बुधवार हुने निर्वाचनका लागि पाँच नम्बर प्रदेशका तराईका जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका व्यक्ति तथा राजनितिक दलका कार्यक्रमलाई लक्षित गरी बम राख्ने र आक्रमण हुने भएपछि सुरक्षा सतर्कता बढाइएको हो।
आइतबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिएसँगै सुरक्षा निकायले मतदानस्थलको अनुगमन सुरु गरेको छ। सोमबार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनी, सशस्त्र प्रहरीका नायब महानिरीक्षक सुबोधकुमार अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका कुलदेव थापासहितको टोलीले रुपन्देहीका मतदान स्थलको अनुगमन तथा निरीक्षण गरेको छ।
निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक पुडासैनीले जिल्लाका सुरक्षा समितिले तीन वटै सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा योजना तयार पारिएको जानकारी दिए। हरेक जिल्लामा हाल रहेको भन्दा १ तह माथिको सुरक्षा अधिकृतको कमाण्डमा सुरक्षा टोली खटाइएको छ।
प्रदेश नम्बर ५ का ६ जिल्लामा ३ सय ४६ मतदानस्थल सुरक्षाको दृष्टिले अति संवेदनशिल क्षेत्रको सूचीमा राखिएको र ती क्षेत्रमा सुरक्षाकर्मीको पैदल गस्ती, मोबाइल गस्ती तथा ट्रयाकर डग स्लिपिङ मार्फत समेत सुरक्षा सतर्कता मिलाइएको जानकारी दिए।
‘पछिल्ला केही दिनमा बम तथा विस्फोटक वस्तु फेला पर्ने क्रम बढेपछि विस्फोटक वस्तु नभित्रियोस् भनेर २ वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ', उनले भने।
संविधान नमान्ने, निर्वाचन बिथोल्ने, मतदातालाई डर धम्की दिएर भड्काउन सक्ने क्षेत्र, निर्वाचनको विरोधमा रहेका दल तथा समूहको प्रभावित क्षेत्र र वातावरणीय जोखिमको कारण मतपत्र भिज्ने र डुब्न सक्ने क्षेत्रलाई अतिसंवेदनशिल क्षेत्रको सूचीमा राखिएको छ।
पुडासैनीले मतदान स्थलको संवेदनशिलताको आधारमा एउटा मतदान स्थलमा पहिलो घेरामा ७ देखि २३ जनासम्म प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाइएकोले ढुक्क भएर मतदानमा भाग लिन आग्रह गरे।