बलिउड अभिनेत्री श्रीदेवीले चर्चित फिल्म ‘मिस्टर इन्डिया’को सिक्वेलमा खेल्ने बताएकी छन्।
फिल्म ‘मिस्टर इन्डिया’को सिक्वेल बन्ने अहिलेसम्म पक्का नभएपनि श्रीदेवीले यो फिल्म बन्यो भने आफूले पक्का खेल्ने बताएकी हुन्।
भारतीय पत्रिका बम्बे टाइम्सलाई दिएको एक अन्तरवार्तामा उनले आफूलाई फिल्म ‘मिस्टर इन्डिया’ को सिक्वेलमा खेल्ने इच्छा भएको बताईन्।
उनले भनिन्, ‘यदि मलाई कसैले मिस्टर इन्डियाको सिक्वेलमा काम गर्न मन छ कि छैन भनेर सोध्यो भने मेरो उत्तर सकरात्मक हुन्छ, म यो फिल्मको सिक्वेलमा खेल्न चाहन्छु’।
यो फिल्मको बारेमा अहिल्यै कुरा गर्नु हतार भएको बताउँदै श्रीदेवीले फिल्मको सिक्वेल आफ्नै श्रीमान बोनी कपूरले बनाउने पक्का भएको बताईन्।
मिस्टर इन्डियाको सिक्वेलको कथाबारे अहिले केही पक्का नभएको बताउँदै श्रीदेवीले यसबारे समय आएपछि कुरा गर्ने बताईन्।
सन् १९८७ मा बनेको फिल्म ‘मिस्टर इन्डिया’ निकै सफल भएको थियो । जसमा श्रीदेवीको अभिनयलाई सबैले तारिफ गरेका थिए।