बुटवलमा कांग्रेस एमालेको आरोप प्रत्यारोप
बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधि शुरू हुन केही घण्टा बाँकि रहँदा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रतिपक्षी नेकपा एमाले र नेपाली कांग्रेसले अन्तिम चुनावी सभा गरेका छन्। बुटवलको ट्राफिक चोकमा नेकपा एमालेले र राजमार्ग चौराहमा नेपाली कांग्रेसले चुनावी सभा गरेका हुन्।
ट्राफिक चोकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजमार्ग चौराहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए।
दिउँसो २ बजेदेखि शुरू एमालेको सभा सकिएर ओली फर्किए लगत्तै ४ बजेदेखि नेपाली कांग्रेसले सभा शुरु गरेको थियो। दुई स्थानमा दुई दलका नेताहरुले गरेको मन्तव्यको अधिकांश समय भने एक अर्कालाई आरोप प्रत्यारोप मै खर्चेका थिए ।
एमाले सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा सबै तहमा उम्मेदवारी दिन नसकेको कांग्रेससँग निर्वाचनमा उत्रिने हैसियत सकिएको बताएका थिए। माओवादी केन्द्रसँग चुनावी तालमेल गरे पनि एमालेसँग टक्कर लिन नसक्ने उनले दाबी गरे।
ऊ बेला बलियो रहेको कांग्रेसको बैश सकिएको भन्दै ओलीले माओवादीको लौरो टेके पनि उभिन नसक्ने दाबी गरे। नेता ओलीले नेपालमा भोट दिनुपर्ने एक मात्रै पार्टी एमाले भएको भन्दै एमालेलाई भोट दिनु नपर्ने कुनै कारण छ? भन्दै मतदातालाई प्रश्न गरेका थिए।
नेपाली कांग्रेस चुनावमा आउन डराएर नै प्रदेश नम्बर दुईको चुनाव सारेको ओलीको आरोप थियो। ‘पहिलो र दोस्रो चुनावमा पनि एमालेले कठालोमा समातेर घिसार्दै ल्याएका हौ,’ ओलीले भने, ‘कांग्रेसले राजपालाई देखाएर चुनाव सारेको हो।’
माओवादीसँगको कांग्रेस गठबन्धन देशलाई विभाजन गर्ने उद्देश्यले भएको भन्दै नेता ओलीले प्रदेश नम्बर ५ का पहाडी जिल्ला टुक्र्याउने प्रस्ताव मुलुकलाई विभाजन गर्ने पहिलो कदम रहेको बताए।
ओलीले राष्ट्रको समृद्धि, विकास र नेतृत्वका लागि एमालेको विकल्प नभएको भन्दै नेपालमा रेल ल्याउने भन्दा खिसिट्यूरी गर्नेहरुको घोषणा पत्रको कभरमै रेलको तस्विर देख्दा आफू हर्षले गदगद भएको बताए।
कार्यक्रममा बोल्दै एमाले उपमहासचिव विष्णु पौडेलले बुटवलमा कांग्रेसले पराजय स्वीकारीसकेको र औपचारिक घोषणा हुन मात्र बाँकि रहेको दाबी गरे।
अर्का उपमहासचिव घनश्याम भुसालले अंग्रेजहरुलाई हराउने जीतगढी किल्ला भएको स्थानमा कांग्रेस–माओवादीलाई जित्न छुट नभएको बताए।
सभालाई एमाले रुपन्देही पूर्व अध्यक्ष भोजप्रसाद श्रेष्ठ, उम्मेदवारहरु शिवराज सुवेदी, गोमा आचार्य, पूर्व उपमेयर बिमलबहादुर शाक्य, नेतृ सावित्रा अर्याल, ऋषि पाण्डे लगायतले सम्बोधन गरेका थिए।
कांग्रेस-माओवादी गठबन्धन अझै ५ वर्ष चल्छयता नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाल पहाड तराईको एकता नै राष्ट्रवाद भएको बताएका छन्। जातजाति र पहाड तराई बिच बिभाजनको रेखा कोर्ने पार्टी राष्ट्रवादी हुन नसक्ने पौडेलको भनाई थियो।
सम्बोधनको क्रममा अधिकांश समय एमाले विरुद्ध खर्चिएका नेता पौडेलले एमालेको लोकतान्त्रिकरण आवश्यक रहेको भन्दै सर्वसत्तावादको बाटो त्यागी लोकतान्त्रिक हुन सुझाव दिए।
माओवादी कांग्रेस गठबन्धन प्रादेशिक र संघीय संसदको निर्वाचनसम्म मिलेर जाने भन्दै पौडेलले दुई दलबीचको एकता राष्ट्रको लागि भएको दाबी गरे।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता चन्द्रप्रकाश खनालले कांग्रेस माओवादी गठबन्धन अझै ५ वर्ष चल्ने बताए। आगामी ५ वर्ष अझै कांग्रेस माओवादी सरकार चल्ने र संविधानको कार्यान्वयन गर्ने दाबी गरे।