नेप्लीज अस्ट्रेलियन क्रिकेट एशोसिएसन (एनएसीसी) को आयोजनामा सन्चालित दुई दिने अन्तर राज्य मैत्री क्रिकेट प्रतियोगिता बराबरीमा सकिएको छ। ट्वान्टी ट्वान्टी क्रिकेट र एक दिवसीय शृंखलामा दुबै टोलीले एक जित र एक हारका साथ आफ्नो यात्रा टुंग्याएका थिए। अस्ट्रेलियाको न्यु साउथवेल्स राज्य र भिक्टोरियाको नेपालीहरुको क्रिकेट टिमले सहभागिता जनाएको यो क्रिकेट श्रृंखलाको पहिलो खेलमा आयोजक न्यु साउथवेल्सले भिक्टोरियालाई हराएको थियो भने एक दिवसीय खेलमा भने भिक्टोरियाले बाजी मारेको थियो।
शनिबार सम्पन्न ट्वान्टी ट्वान्टी क्रिकेटमा पहिलो ब्याटिङ गरेको भिक्टोरियाले सबै खेलाडी गुमाउँदै एक सय १२ रन जोडेको थियो। भिक्टोरियाका राजकुमार गुरूङले सर्वाधिक ३९ रनको योगदान दिएका थिए। प्रतिउत्तरमा एनएसडब्लुले ओपनर आशिष पान्डे र गोविन्द कार्कीको उत्कृष्ट सुरुआतसँगै १७ ओभरमै खेल आफ्नो पक्षमा पारेको थियो ।
आइतबार बैकसटाउन ओभलमा सम्पन्न एक दिवसीय खेलमा भने भिक्टोरियन नेप्लीज क्रिकेट संघले न्यु साउथवेल्सलाई ४१ रनले पराजित गर्दै एक दिवसीय ट्रफी हात पारेको छ ।
पहीले ब्याटिङ गर्दै भिक्टोरियाले ३३.५ ओभरमा एक सय ६२ रन बनाएको थियो । प्रतिउत्तरमा मैदानमा दोस्रो ब्याटिङ गर्न उत्रेको न्युसाउथवेल्स निर्धारित ३५ ओभरको खेलमा मात्र एक सय २१ रनमा समेटिएको थियो।
भिक्टोरियन क्रिकेटका कप्तान सुनाम गौतमले ४७ रन र मनिष खकुरेलले ४९ रन र राजकुमार गुरुङले २२ रनको योगदान दिएका थिए। नेपाली राष्ट्रिय टोलीबाट समेत खेलिसकेका केही अनुहार समेत यस पटक अस्ट्रेलियाको अन्तर राज्य क्रिकेटमा देखा परेका थिए।
मेलवर्नका सुनाम गौतम यस खेलमा म्यान अफ दी म्याच घोषित भए। उनले सात ओभर बलिङ गर्दै २० रन खर्चेर तीन महत्वपूर्ण विकेट समेत हात पारे।
नेपाली क्रिकेटमा चिनिएका क्रिकेटरहरू यशवन्त सुवेदी, प्रेम चौधरी , सुनाम गौतम, गोविन्द कार्कीको उपस्थितिले यहाँको क्रिकेटमा केहि रौनक थपेको थियो ।
अस्ट्रेलियाका क्रिकेटर स्टीभ र मार्क वाको घरेलु मैदानमा खेलिएको खेलका विजेताहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष नरेश श्रेष्ठ र एनएसीसीका अध्यक्ष अजय क्षेत्रीले ट्रफी तथा प्रमाणपत्र बितरण गरे। पूर्वेली क्रिकेटका भिष्म पीतामह नाम पाएका श्रेष्ठले क्रिकेटको उर्वरभूमी अस्ट्रेलियामा समेत नेपाली समुदायले क्रिकेटलाई आफ्नो हिस्सा बनाएकोमा गर्व लागेको बताए।
भिक्टोरियाको मेलवर्नवाट क्रिकेट हेर्न सिड्नी आइपुगेका श्रेष्ठले सेतोपाटीसँग भने, ‘यसले नेपाली क्रिकेटलाई पनि फाइदा पुग्ने पक्का छ। सिड्नीमा करिब १८ वटा क्रिकेट क्लबहरू वर्षभर क्रिकेट लिगमा सामेल भए पनि भिक्टोरियामा भने भर्खरै संघ गठन गरेर छरिएर रहेका खेलाडीलाई एउटै छाता भित्र बाध्ने प्रयास गरेका छौ,’ व्यवस्थापक केसीले भने।