हामी कुनै प्रतिभासम्पन्न व्यक्तिलाई देखेर उसबाट तुरुन्तै प्रभावित हुन्छौँ। कति अद्भूत क्षमता! भन्दै हामी उसका सामु नतमस्तक हुन्छौँ। यो कुरा ठीक हो। प्रतिभा सम्मान र नतमस्तकताको पात्र हुन्छ। तर यत्रो भीडमा दुई चार जना व्यक्तिमात्रै किन प्रतिभासम्पन्न हुन्छन्? प्रतिभा ईश्वरको बरदान हो अथवा प्रतिभा जीवात्माले अनुकूल वातावरणमा पाएको अनुकूल रुझानको शिक्षा हो?
अधिकांश मानिसहरु सोच्छन्, प्रतिभा ईश्वरको बरदान हो, शिक्षणबाट त्यो आउँदैन।
प्रतिभा ईश्वरको बरदान होस् या नहोस्, शिक्षाबाट त त्यो आउँदैन नै। अँ, कहिलेकाहीँ खराब शिक्षणबाट भागेर जो आफ्नै मनका मालिक बने, उनीहरु प्रतिभाशाली बनेर निस्किए। प्रतिभा अर्थात् आफ्नो अन्तस्थ शक्तिहरुको भरपूर विकास। काव्यशक्तिले मनोनुकूल विकास पायो भने त्यो प्रतिभासम्पन्न कवि हुन्छ, लेखनवृत्तिको मनोनुकूल सम्पूर्ण विकास भयो भने प्रतिभासम्पन्न लेखक बन्छ। मनुष्यमा प्रतिभाको बीउ त हुन्छ नै, प्रत्येक मनुष्य मुनष्य भएकै कारण उसमा प्रतिभाको बीउ विद्यमान हुन्छ।
कुनै व्यक्तिमा कविको प्रतिभा हुन्छ, कसैमा सङ्गीतको त कसैमा कुम्हालेको। भाँडा बनाउने कुम्हालेले आफूले गरेको व्यवसायलाई उम्दा स्तरमा पु¥याउनु उसको प्रतिभा हो। सो व्यवसायको महत्ता बढाउनु, त्यसमा नयाँ अनुसन्धान गर्नु, व्यवसायलाई वृहद् बनाउनु, धनसम्पन्न हुनु, प्रतिष्ठा पाउनु– यति काम जसले गर्छ, वास्तविक कुम्हालेको प्रतिभा हो र यही प्रतिभा उसमा हुनसक्छ। यति सबै गर्नका लागि यदि कुम्हालेले पूर्ण अवसर पायो र गरेर देखायो भने ऊ प्रतिभासम्पन्न कुम्हाले भयो।
फोर्ड गाडीको नाम त तपाईँले सुन्नु भएकै होला। कार बनाउनुअघि फोर्ड लोहार त थियो! तर उसमा गज्जबको प्रतिभा थियो। उसले सामान्य लोहार भएर बस्न रुचाएन। ऊ सामान्य यन्त्र चलाउने व्यक्ति नभएर यन्त्र निर्माता बन्न पुग्यो। उसको प्रतिभा नवीनता र विशेषतायुक्त बन्न पुग्यो। यति मात्र होइन, उसले नयाँ अर्थशास्त्र र नयाँ दर्शन ल्यायो।
जसरी एउटा फलामको काम गर्ने लोहार प्रतिभासम्पन्न भएका छन्, त्यसैगरी हजाम पनि उत्तिकै प्रतिभाशाली हुन सक्छन्। प्रतिभाका लागि अनुकूल वातावरणको आवश्यकता हुन्छ। आजका विद्यालयले अनुकूल वातावरण दिन थाले र पढाउने मात्र कुराका पछि लागेनन् भने पक्कै पनि अनेक किसिमका प्रतिभा प्रकट हुन सक्छन्।
तर उफ्, हिजोआजका विद्यालय प्रतिभालाई धुलो पारिदिने दह्रो र प्रतिष्ठित कारखाना मात्र बन्न पुगेका छन्।
...
बाल मन्दिरमा नाटकको तयारी चलिरहेको थियो। नाटक हेर्नका लागि उत्सुक बालबालिकाको भीड थियो र सबै जना बन्द पर्दासामु गोलबन्द भएर बसेका थिए। यत्तिकैमा एउटा बालकले अर्को बालकसँग कुरा गर्दै गरेको सुनेँ, ‘गिजुभाई मलाई मनै पर्दैन, उसको अनुहार ढेडुको जस्तो कालो छ।’
म अलि टाढैबाट उनीहरुको कुरा सुनिरहेको थिएँ। मैले उनीहरुको कुरा बुझिनँ। म त गहुँगोरो छु। उनीहरुलाई म मन पर्दिनँ भन्ने कुरा पत्याउन मलाई गाह्रो भयो। म रुपवान छैन, त्यो मलाई थाहा छ तर ढेडुजस्तो कुरुप त पक्कै पनि छैन।
एकछिनसम्म म अलमलिएँ। उसका लागि किन अप्रिय भएँ होला भनेर सोचिरहेँ।
एउटा बालक मनजिक आएर भन्न थाल्यो, ‘म नाटक हेर्न आउँदिनँ।’
मैले सोचेँ, ‘नाटक र मेरो कालो अनुहारबीच कुनै सम्बन्ध होला।’ विचार–साहचर्य (एसोसिएसन्स अफ आइडियाज)का माध्यमले मेरो दिमागमा के आयो भने, ‘अँ, त्यो दिन ‘भयको भेद’ नाटक खेलिएको थियो। त्यसमा भैरवको भेष देखेर केही बालबालिका रोएका थिए। सम्भवतः यो बच्चा पनि रुनेमध्येको एउटा होला।’
मैले हाँस्दै त्यस बालकलाई भनेँ, ‘ठीक छ, नाटक मन पर्दैन भने नआऊ। तर आज म आफ्नो अनुहार कालो बनाउँदिनँ। त्यो दिन त मैले कालो भेषभूषा लगाएको थिएँ र केटाकेटीहरु डराएका थिए। हैन त?’
बालकले भन्यो, ‘अँ, सबै रोइरहेका थिए। तपाईँ ज्यादै नराम्रो देखिनु भएको थियो।’
मैले भनेँ, ‘आज म नराम्रो देखिन्नँ।’
त्यो बालक त्यस दिन नाटक हेर्न आयो। हरेक पटक नाटक हेर्न आएका केही बालबालिकाहरु बीचबाटै उठेर हिँड्ने गर्थे। तर मैले कारण थाहा पाउन सकेको थिइनँ। उनीहरुको मनको रहस्य आज बल्ल मैले थाहा पाएँ।
त्यो दिन खेलिएको नाटक ‘भयको भेद’ ससाना बालबालिकाका लागि निकै लाभप्रद सिद्ध भयो। वास्तविक भैरव बन्नका लागि मैले निकै ध्यानपूर्वक डरलाग्दो पहिरन बनाएको थिएँ, अनुहार पनि डरलाग्दो बनाएको थिएँ। संवाद बोल्दा पनि ठूलो आवाजमा बोलेको थिएँ। ठूला दर्शकले मेरो भेषभूषा र अभिनय निकै रmचाए र प्रशंसा गरे। तर ससाना बालबालिकामध्ये अधिकांश डराए। शायद जीवनभर नै उनीहरु त्यस क्षणसँग डराइरहनेछन्।
नाटक बालदर्शकका लागि थियो। ठूलाको प्रशंसा आफ्नो ठाउँमा उचित थियो तर पनि बालबालिकाको दृष्टिले हाम्रो सारा मिहिनेत व्यर्थ भयो।
त्यो रात मैले सोचेँ, ‘के नाटकको चयन सही थियो त?’
उत्तर पाएँ, ‘अँहँ, थिएन।’
यद्यपि सबै कलाकार आफ्नो अभिनयमा सन्तुष्ट भएका थिए। ठूलो उमेरका दर्शकलाई बडो आनन्द आयो। प्रदर्शनवृत्ति र विवेचनवृत्तिका बारेमा नाटकले स्पष्ट रुपमा बताएको हुनाले यसमा प्रशस्त ज्ञानको खुराक थियो। तापनि बालबालिकाका लागि यो निष्फल नै भयो।
बालबालिकाका लागि मञ्चित हुने नाटकहरुमा, भनिने कथाकहानीमा, देखाइने दृश्य (नाटक, सिनेमा, चित्र आदि) चयन गर्दा कैयौँ पटक हामी ठूलो गल्ती गर्छौँ। माथि बताइएको गल्तीतिर मेरो ध्यान पहिले किन गएन। सोच्दा म आश्चर्यमा पर्छु, दुःखी पनि हुन्छु र आफैँप्रति हाँसो पनि उठ्छ।
साना बालबालिका भयानक दृश्य देखेर डराउन थाल्छन्, यो कुरा मलाई थाहा थियो। यति हुँदाहुँदै पनि यति ठूलो त्रुटि भएकाले मलाई लाग्यो मैले आफ्नो मानसिकताको विवेचना गर्न आवश्यक छ।
प्रसिद्ध बेलायती बालशिक्षाशास्त्री ए.एस. निलले एउटा एकाङ्की नाटक लेखेका थिए, कास्टिङ आउट फियर। त्यसैको भाषान्तर ‘भयको भेद’ शीर्षकमा हरभार्ई त्रिवेदीले गुजरातीमा गर्नुभएको थियो र मैले मञ्चन गरेको थिएँ। यस नाटकले अभिव्यञ्जित भय दलित–दमित–अवरुद्ध प्रेमको परिणति हो भन्ने देखाएको छ। यस नाटकका माध्यमले ए.एस. निलले के बुझाउन खोजेका थिए भने, नडराऔँ बरु माया गरौँ, डरलाई त्याग्यौँ भने त्यसका पछाडि प्रेम नै हुन्छ।
तर, निलले यो नाटक किन लेखेका होला? सबैलाई यो कुरा थाहा भएकै त हो! अनि हरभार्ईले यसैलाई अनुवाद किन गरेका होला? मैले नै यसलाई किन अभिनय गर्नका लागि छनोट गरेँ?
आफूभित्र विद्यमान कुनै भय निकाल्नका लागि निलले यो नाटक लेखेका थिए? हरभार्ईले पनि पनि त्यसै कारण त्यसको अनुवाद गरेका थिए? अनि त्यही कारण मैले खेलेको हुँ त? अथवा निल, हरभाई र म प्रेम–स्वरुप थियौँ र नबुझीकनै हामीमा प्रत्यापित भयले हाम्रो स्वरुप हेर्न दिँदैन भन्ने सिद्ध गर्नका लागि मैले यो नाटक गरेको थिएँ त?
के हामी आफ्नो मानसिक कष्ट हटाउनका लागि प्रायः बालबालिका र अन्यलाई जोखिममा पार्दैनौँ त? मानौँ बालबालिकालाई गिजुभार्ई भैरवको भूमिका छन् भन्ने थाहा भयो, कतिलाई त यो थाहा पनि थियो र पनि नाटक चल्दै गर्दा केही बालबालिका रोए, उनीहरुबीच आतङ्क मच्चियो। त्यसपछि मैले आफ्नो कालो वस्त्र फ्याँकिदिएँ र बालबालिकालाई आफ्नो प्रेमपूर्ण मुस्कुराउँदो अनुहार देखाएँ। यस्तो अवस्थामा पनि डराएका बालबालिकाको मुटु डरले धड्किरहेको थिएन र? मेरो प्रेमपूर्ण रुप देख्नका लागि उनीहरुमा रत्तिभर उत्कण्ठा–उमङ्ग थिएन। बरु उनीहरु त्यहाँबाट भाग्नका लागि आतुर थिए, होइन र? केही त भागिसकेका थिए।
त्यसपछि पनि मैले कैयौँ पटक ती बालबालिकालाई स्पष्टीकरण दिइसकेको थिएँः ‘म नै त थिएँ नि त्यहाँ। कालो कपडा मात्र लगाएको थिएँ! र पनि तिमीहरुले चिनेनौ।’
बालबालिकाले मेरा कुरा स्वीकार पनि गरे। यसमा डराउने के कुरा थियो र भनी आत्मालोचना पनि गरे र उनीहरुले यो कुरा आफ्नो दिमागमा राखे पनि। यति हुँदाहुँदै पनि उनीहरुको डर मेटिएन भन्ने कुरा मैले महसुस गरेँ– त्यसैको प्रमाण थियो, त्यो बालक!
यस नाटकको प्रस्तुतिमा मेरो र मेरा साथी कलाकारहरुको जतिसुकै प्रशंसा भएको भए पनि, यो नाटक अब बालबालिकाहरुलाई कहिल्यै नदेखाउने प्रतिज्ञा गरेको थिएँ।
अर्को एउटा कुरा। त्यो नाटक गरेको रात दुई जना बालबालिकालाई ज्वरो आयो र एउटा बालक त कैयौँ दिन विद्यालय नै आएन। बालबालिकाले डराउनु आवश्यक छ भनेर जतिसुकै माने पनि, भयबाट निस्किएका बालबालिका निर्भय बन्छन् भन्ने थाहा पाए पनि र भय नै प्रेमको सुरmवात हो र भयमा नै निर्भयताको मूल हुन्छ भने पनि, म यस्ता भ्रामक मनोविज्ञान (क्वाक साइकोलजी) मान्दिनँ। भयको जुन छाप एक पटक अङ्कित हुन्छ, त्यो बुद्धि–बलबाट, तर्क–विकासबाट, तङ्खव–ज्ञानको बलबाट अथवा फलामजस्तो कमाइएको शारीरिक बलबाट पनि मेटिँदैन।
बाल्यावस्थामा परेको भयको छाप मस्तिष्कमा भूतजस्तै घुमिरहन्छ र व्यक्ति सधैँ डराइरहन्छ।
(गिजुभाईद्वारा लिखित, अच्युत कोइरालाले अनुवाद गरेको पुस्तक ‘हिँड्दा हिँड्दै’ को अंश। मञ्जरी बुक्सले प्रकाशनमा ल्याएको पुस्तक यसै साता बजारमा उपलब्ध हुनेछ)