विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडी मानिएका अर्जेन्टिनाका लिओनल मेसी आज (शनिवार) ३० वर्षमा प्रवेश गरेका छन्।
उनलाई जन्मदिनमा बधाई दिनेको अहिले लर्को लागेको छ। बार्सिलोनाका यी स्टार स्ट्राइकरको जीवनमा थुप्रै उतार चढाव आएका छन्। यसैलाई लिएर एजेन्सीहरुले विभिन्न समाचार बनाइरहेका छन्।
उनको ३० औं जन्मदिनमा उनीसँग जोडिएको ३० वटा घटना यस प्रकार छ।
१. मेसीका लागि यसपालि आफ्नो जन्मदिनले विशेष महत्व राख्दै छ। किनभने आउँदो साता उनी बच्चैदेखिको साथी तथा प्रेमिका आन्टोनेला रोक्युजोसँग अर्जेन्टिनास्थित आफ्नो जन्म स्थान रोसारियोमा बिहे गर्दैछन्। यो उपलक्ष्यमा बार्सिलोनाका सबै सहपाठीलाई उनले विशेष निम्तो दिएका छन्।
२. मेसीको बिहेभन्दा अघि नै आन्टोनेलाबाट दुई बच्चा जन्मिसकेको छ। उनको ४ वर्षे छोरा थियागो र १ वर्षको छोरा माटेओ छन्।
३. अन्य आधुनिक फुटबल खेलाडी जस्तै मेसीको पनि शरीर टाटुले भरिएको छ। उनले आफ्नो शरीरमा खोपिएको टाटु आफ्नी आमा, छोराहरु र जेससलाई समर्पण गरेका छन्। मेसी आफै पनि टाटु खोप्ने गर्छन्। उनले एकपल्ट आफ्नै टाटु आर्टिस्टको नाडीमा ‘१० नम्बर’ खोपेका थिए।
४.बार्सिलोनाका डिफेन्डर गेरार्ड पिके एकपल्ट अन्तर्वार्तामा भनेका थिए, मेसी बच्चामा अन्तरमुखी र शान्त स्वभावका थिए। सानोमा मेसीलाई धेरै कुरा गर्न आउँदैन्थ्यो, उनी बोल्दा अड्किन्थे, बोले पनि अर्जेन्टिनी उच्चारण आउँथ्यो, बार्सिलोनाको कास्टेलडेलेफ्समा उनी एकाङ्गी जीवन बिताउन रुचाउँथे।
५. मेसीको सबैभन्दा नजिकका साथीहरु लुइस सुआरेज र सेस फाब्रिगास हुन्। यिनीहरुसँग मेसीको पारिवारीक सम्बन्ध जस्तै छ। सुआरेजको श्रीमति सोफिया बाल्बी र मेसीको हुनेवाला श्रीमतिले मिलेर बार्सिलोनामा जुत्ताको सोरुम खोलेका छन्। तीन परिवार गत साता मात्र स्पेनको इबिजामा छुट्टी मनाउदै गरेको तस्बिर सार्वजनिक भएको थियो।
६. मेसीले आफ्नो आधाभन्दा बढि जीवन क्याटलोनियामा बिताएका छन्। तर, उनले आफ्नो घरेलु खानाको स्वादलाई बार्सिलोनामा बसेर पनि निरन्तरता दिइरहेका छन्। उनको भान्छामा अर्जेन्टिनामा बन्ने विशेष परिकार ‘डुल्से डे लाचे’, माटे र मिलानेसा सधै हुन्छ। उनी यी तीन खाने कुराका विशेष पारखी हुन्।
७. मेसीको आमाको थर कुसिटिनी हो। जो इटालीबाट बसाइँ सरेर आएको परिवार हो।
८. मेसी र उनको बुवा जर्जेलाई स्पेनको अदालतले कर छलीको अभियुक्त मानेको छ। यिनीहरुलाई २००७ र २००९ को बीचमा तस्बिरको अधिकार बेचेर कर नतिरेको भन्दै ४७ लाख अमेरिकी डलर छली गरेको आरोप लागेको छ।
९. मेसी फुटबल करिअर समाप्त भएपछि होटल व्यवसायमा लाग्ने सम्भावना बलियो मानिन्छ। उनले ३ करोड युरोमा यसै वर्ष सिटगेस होटल किनेका छन्।
१०. अर्जेन्टिनाको गरिब बस्ति रोसारियोमा जन्मिएका मेसी पहिले न्युवेल्स ओल्ड ब्वाइजबाट खेल्थे।
११. बार्सिलोनासँग मेसीको पहिलो अनुबन्धको कागज हतारमा नेपकिनमा लेखिएको थियो। उचाई नबढ्ने समस्याबाट ग्रस्त भएपछि उपचारलगायत सबै खर्च बेहोर्ने सर्तमा बार्सिलोनाले सानो उमेरमै मेसीलाई अनुबन्धित गरेको थियो।
१२. मेसीले करिब १३ वर्षअघि बार्सिलोनाबाट लिगमा डेब्यु गरेका थिए। उनको पहिलो खेल ओलम्पिक रंगशालामा स्पान्योलविरुद्ध थियो।
१३. रियल म्याड्रिडविरुद्ध चर्चित अल क्लासिको भिडन्तमा सर्वाधिक २३ गोल गर्ने एक्लो खेलाडी मेसी हुन्।
१४. मेसीको उदयपछि बार्सिलोना स्पेनको सबैभन्दा बलियो टिम बन्न पुगेको छ। उनले बार्सिलोनालाई ८ वटा ला लिगा, ५ वटा कोपा डेल रे, ६ स्पेनिस सुपर कप, ४ च्याम्पियन्स लिग, ३ युरोपियन सुपर कप, ३ क्लब विश्व कप (कूल २९) उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका छन्।
१५. मेसी सन् २००५ मा अर्जेन्टिनाले युथ–२० विश्व कप जित्दा विजेता टोलीका सदस्य र २००८ मा ओलम्पिक स्वर्ण विजेता टिमका सदस्य थिए।
१६. अर्जेन्टिनाको सिनियर टिमको कप्तान हुँदा २०१४ मा आफ्नो नेतृत्वमा देशलाई फाइनल पुर्याएका थिए। उनी त्यो विश्व कपको उत्कृष्ट खेलाडी बन्न पुगेका थिए। उनी समावेश अर्जेन्टिना २००७, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनल पुगेको थियो।
१७. मेसी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन्। उनले ५८ गोल गरिसकेका छन्।
१८. मेसी विश्व कपमा अर्जेन्टिनाका कान्छो उमेरका गोलकर्ता हुन्, जसले १८ वर्ष ३ सय ५७ दिनमा विपक्षी टोलीविरुद्ध गोल गरेका थिए। २००६ को विश्व कपमा मेसीले सर्विया एन्ड मोन्टेनेग्रोविरुद्ध गोल गरेका थिए।
१९. दक्षिणी अमेरिकी फुटबलमा कम उमेरमा सय अन्तर्राष्ट्रिय खेल खेल्ने मेसी कान्छो खेलाडी हुन्। उनले २७ वर्ष ३ सय ६१ दिनमा सय अन्तर्राष्ट्रिय खेल खेलेका थिए। हाल उनले १ सय १८ खेल खेलिसकेका छन्।
२०. सन् २०१६ मा आफ्नो नेतृत्वमा कोपा अमेरिकाको उपाधि जित्न असफल भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। तर, अर्जेन्टिनी राष्ट्रपति माउरिसियो मार्कीले सन्यासको निर्णय पुर्नविचार गर्न विशेष अनुरोध गरेका थिए। उनलाई पुनः राष्ट्रिय टोलीमा फर्किन अनुरोध गर्दै ब्युनोज आयर्समा जुलुस नै निस्किएको थियो। यसपछि मेसी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए।
२१. मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन्। उनले क्लबका लागि ५ सय ७ गोल गरिसकेका छन्।
२२. मेसी विश्वको उत्कृष्ट फुटबल खेलाडीबाट धेरै पल्ट सम्मानित हुने खेलाडी हुन्। उनी ५ पल्ट बालोन डि‘ओरबाट सम्मानित भइसकेका छन्।
२३. उनी युरोपको ५ महत्वपूर्ण लिग खेल्ने खेलाडीहरुमा सबैभन्दा छिटो ३ सय गोल पुरा गर्ने खेलाडी हुन्। उनले ३ सय ३४ गोल गरिसकेका छन्।
२४. उनले २०११–१२ को सिजन स्पेनिस लिगमा मात्र ५० गोल र सबै प्रतियोगितामा गरेर ७३ गोल गरेका थिए। जुन कीर्तिमानलाई अहिलेसम्म कसैले चुनौती दिन सकेको छ्रैन्।
२५. मेसीको नाममा चीनको नान्जिङ प्रान्तमा २०१९ मा एउटा पार्क खुल्दैछ। यसको नाम ‘मेसी एक्सिपिरियन्स पार्क (मेप)’ राखिएको छ।
२६. मेसीलाई विश्वभरीका मिडियाले सर्वाधिक पछ्याउने गर्दछन्।
२७. स्पेनिस शब्दकोषमा मेसीको खेलको प्रभावस्वरुप एउटा शब्द ‘इनमेसियोनेट’ समावेश गरिएको छ। जसको अर्थ उत्कृष्ट ढंगले फुटबल खेल्न जान्ने भन्ने लाग्छ।
२८. अफगानिस्तानका एक बालक प्लास्टिकलाई अर्जेन्टिनी राष्ट्रिय टोलीको जर्सी बनाएर लगाएको र उनले पहिरेको जर्सीमा आफ्नो १० नम्बरको लोगो अंकित भएको तस्बिर सार्वजनिक भएपछि मेसीले उनलाई कतारमा भेटेका थिए।
२९. निर्देशक एलेक्स डे ला इग्लेसिया र वार्नर ब्रर्दरर्सले मिलेर २०१४ मा मेसीको फिल्म बनाउने घोषणा गरेका थिए।
३०. मेसी सोशल मिडियाका त्यति ठूलो प्रयोगकर्ता होइनन्। तर उनको विश्वब्यापी ठूलो फ्लोअर छन्। उनको हालसम्म पनि ट्विटर अकाउन्ट छैन्। तर, फेसबुक छ। फेसबुकमा मात्र उनलाई पछ्याउनेको संख्या ८ करोड ८८ लाख ७५ हजार ४ सय ८९ छ। यस्तै, इन्स्टाग्राममा उनलाई ७ करोड ४३ लाखले पछ्याउँछन्।