अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीलाई कर छलीको अभियोगमा लागेको २१ महिना लामो जेल सजायलाई परिवर्तन गरेर २५ लाख ५० हजार युरो जरिवानामा सिमित गरिएको छ।
स्पेनको सरकारी वकिलले मेसीमाथि लागेको २१ महिना लामो जेल सजायको सट्टा अतिरिक्त जरिवाना लिन स्विकार गरेको बताइएको छ। बार्सिलोनाका सुपरस्टारलाई कर छलीको अभियोगमा गत जुलाईमा जेल सजाय तोकिएको थियो। यो मुद्धामा उनको बुवालाई पनि आरोपी मानिएको थियो।
मेसीमाथि २००७ र २००९ को बीचमा आफ्नो तस्बिर बेचेर कमाई भएको रकममा कर नतिरेको आरोप लागेको थियो। उनीमाथि ४१ लाख युरो कर छली गरेको आरोप लागेको थियो।
उनले आफूमाथि लागेको आरोपविरुद्ध मेमा स्पेनको सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए। त्यतिबेला उनको दावीलाई अदालतले खारेज गरेको थियो।
तर, स्पेनिस न्युज एजेन्सी इएफइले जनाएअनुसार मेसीविरुद्ध मुद्धा लडेका सरकारी वकिलले जेल सजायको सट्टा जरिवाना लिन स्विकार गरेका छन्।
सन् २०१६ देखि बयान दिँदै आइरहेका मेसीले आफूमाथि लागेको आरोप अस्विकार गर्दै आइरहेका थिए। उनले बयानका क्रममा आफ्नो ध्यान पैसा कमाउने भन्दा पनि फुटबलमा रहेको बताउँदै आइरहेका छन्।