रामदास गुप्ता पहिलोपटक गाउँ पञ्चायत चुनावमा उठ्दा २४ वर्षका थिए। उनी २०२४ सालमा तत्कालीन ठूलो बर्गदवा गाउँ पञ्चायत वडा नम्बर २ मा अध्यक्ष निर्वाचित भएका हुन्।
पछिल्लो समय राष्ट्रिय जनता पार्टी (राजपा) मा आबद्ध उनी पचास वर्षपछि फेरि चुनावी मैदानमा छन्- कपिलवस्तु नगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवारका रुपमा।
मधेस आन्दोलन क्रममा अग्रपङ्त्तिमा रहेका गुप्ताले '२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन सदुपयोग गर्नुपर्छ' भन्दै आफ्नो पार्टीको निर्णयविपरित स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
'मधेसको माग पूरा भएको छैन भन्ने नेताहरुको भनाइ छ। तर, यहाँनिर आइपुग्दा मधेसी जनताले नेताको अडानलाई साथ दिएको देखिन्न,' गुप्ताले सेतोपाटीसँग भने, 'बीस वर्षपछि हुन गइरहेको स्थानीय चुनावमा भाग लिन जनता आतुर छन्।'
गुप्ता आफैं पनि चुनावमा विश्वास गर्छन्। राजनीति बुझेदेखि नै चुनावमा भाग लिँदै आएका गुप्ता भन्छन्, 'जनताले हामीलाई शक्ति दिने भनेकै चुनावबाट हो। चुनावमै भाग नलिने हो भने हामीले कसको शक्तिबाट लड्ने?'
हुन पनि ०२४ सालयता उनी जहाँबाट चुनाव उठे पनि हारेका छैनन्।
२०३० सालमा ठूलो बर्गदवा गाउँ पञ्चायत अध्यक्ष भई चार वर्ष काम गरेका उनी त्यसपछि कपिलवस्तु आदर्श गाउँ पञ्चायतको उपाध्यक्ष भए। २०४० सालमा कपिलवस्तु नगरपालिकाको पहिलो नगर प्रमुख पनि बने।
प्रजातन्त्र पुनर्स्थापनापछि उनी सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए। त्यसपछि तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै अहिले मधेसी दलहरुको एकीकरणपछि राजपा कपिलवस्तुको अध्यक्षमण्डलमा सदस्य छन्।
‘राजपाले गरेको झगडा, लाठी जुलुस, डन्डा जुलुस प्रदर्शनले जनता आत्तिए, गोली चल्यो, कति मान्छे मरे, कति घाइते भए। घाइतेहरुको उपचार छैन। सहिदहरुको नामनिसान भएन,’ उनले भने, ‘अब यस्तो आन्दोलनमा लाग्नुभन्दा म जनताको दैलोमा जान्छु। जनताको मन र मत जितेर आफ्नो समुदायको समस्या हल गर्नमा अघि बढ्नेछु, त्यसलाई सरकारसमक्ष राख्नेछु। जनताको मतबाट प्राप्त त्यो बल अझ धेरै हुनेछ भन्ने मलाई लाग्छ।’
पार्टीको निर्णयविपरित चुनावमा जाँदा कारबाहीमा परिएला भन्ने तनाव पनि आफूलाई नभएको उनी बताउँछन्।
‘मलाई कारबाही कसले गर्छ, म जनताका लागि आफैं पार्टी छाडेर आएको छु, मैले त राजपाबाट राजीनामा दिइसकेँ,’ उनले भने, ‘राजनीतिक व्यवस्था नै नभएको अवस्थामा समेत जनताको प्रतिनिधि भएको मान्छेलाई राजनीतिक दलले कारबाही गर्ला भन्ने डर हुँदैन।'
७४ वर्ष टेकेका गुप्ता उमेर जति भए पनि समुदायका लागि काम गर्ने उत्साह कम नभएको सुनाउँछन्।
'मलाई बूढो भएँ भन्ने नै लाग्दैन,' उनले भने, ‘पहिले गर्न नपाएका केही अधुरा काम छन्, अब ती पूरा गर्छु।'
गुप्ताको परिवारमा राजनीतिमा लागेका उनी एक्ला होइनन्। उनका दाइ भगवानदास गुप्ता राष्ट्रिय पञ्चायत सदस्य थिए। भतिज वृजकुमार गुप्ता त अहिले पनि सांसद छन्। वृज यसअघि पनि सांसद तथा कानुनमन्त्री भइसकेका छन्।
गुप्ता भने आफूलाई स्थानीय राजनीतिमै टक बसेको बताउँछन्। 'नगरपालिकाको विकास निर्माण र जिल्ला राजनीतिमै अल्झिएँ,' उनी भन्छन्, ‘मैले त्यतिखेर योजना बनाएर काम गर्न सकिनँ, अब नगरपालिकाको मास्टरप्लान बनाएर काम गर्ने इच्छा छ।’
उनले आफ्नो योजना सुनाउँदै भने, ‘यहाँको उर्वर खेतीयोग्य जमिनमा पनि घर बनेका छन्। अब खेतीयोग्य जमिनमा खेती गर्ने र अन्यलाई आवासीय क्षेत्र बनाउने गरी योजना बनाउनुपर्छ। तौलिहवा बजार बाक्लिएसँगै सडक सांघुरो भएको छ। यहाँ रिङरोड बनाउनु छ।’
आफ्ना एक जना छोराबुहारी डाक्टर रहेको र अर्का छोराले पनि बाटो समातिसकेको जनाउँदै उनले भने, ‘छोराहरुले आफ्नो बाटो लिइसके। म अब झन् जनताको काम गर्न स्वतन्त्र छु।’