चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पाँचथर प्रहरीले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरूलाई बिहीबार जिल्लाका विभिन्न स्थानमा चुनाव विथोल्ने योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीको दाबी छ।
पकाउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ फाल्गुनन्द ४ का विजय नेम्बाङ र ताप्लेजुङ सिदिङवा गाउँपालिका साब्लाखुका मुस्कान लिम्बू, धनकुटा पाख्रिबास ३ का संघर्ष परियार, रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए। उनीहरुलाई थप अनुसन्धान गरी सार्वजनिक मुद्दा दर्ता गर्ने प्रहरीको भनाइ छ ।
असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई प्रहरीले पक्राउ गर्दै आएको छ । चुनाव विरोधी गतिविधि गर्ने कसैलाई पनि नछोड्ने प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । यस अघि पनि पाँचथर प्रहरीले जिल्ला इञ्चार्ज अर्जुन आचार्य सौगात, विरेन्द्र मग्रन्ति सहित ४ जनालाई पक्राउ गरेको छ ।