नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन्।
मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका हुन्।
गत भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा अप्ठ्यारो स्थिति आइरहेको उल्लेख गरे।
२४ गतेको विध्वंशपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिह्न खडा भएको बताए।
राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल भएको बताए।
उनले भने, ‘अहिले देश बडो अप्ठ्यारो स्थितिमा छ। तपाईंहरूले पनि महसुस गर्नुभएको होला। २४ गतेको विध्वंशपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिह्न खडा भएको छ। यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल हो राष्ट्र। राष्ट्र बचाउने जिम्मेवारी सबैको हो।’
सहसंयोजक माधवकुमार नेपालले देशलाई जोगाउन सबैले प्रयास गर्न जरूरी रहेको बताए।
विभिन्न समयमा भीडलाई उत्तेजक बनाउने तत्वहरू सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्ने बताए।
सबभन्दा पहिला नेपाली हौं भन्ने भावना जागरूक गर्न जरूरी रहेको बताए।
उनले भने, ‘हाम्रो देशलाई हामीले जोगाउन भरमग्दुर कोसिस गरिरहेका छौं। अनेक तत्वहरूले अनेक समयमा मान्छेलाई उत्तेजित बनाउन खोजे। त्यस्तो अवस्थामा फेरि पनि साम्प्रदायिक संवादलाई ध्यान दिनुपर्छ। जातीय सद्भावलाई ध्यान दिनुपर्छ। मिलेर बस्नुपर्दछ भन्ने मान्यतालाई अघि बढाउनुपर्छ। सबभन्दा पहिला हामी नेपाली हौँ।’
अध्यक्ष नेपालले मुस्लिम समुदायमा अघि बढ्ने सम्भावना भएकाहरूलाई आफूहरूले अग्रसर गरिरहेको बताए। –न्युज एजेन्सी नेपाल