एलेक्सिस साञ्चेज चिलीका सर्वाधिक गोलकर्ता बन्न पुगेका छन्। विश्व बिजेता जर्मनीविरुद्ध विहिबार राती सम्पन्न कन्फिडरेशन कपको समूह चरणको खेलमा गोल गरेका साञ्चेजले आफ्ना अग्रज मार्सेलो सालासको कीर्तिमान उछिन्दै देशको सर्वाधिक गोलकर्ता बनेका हुन्।
उनले १ सय १३ अन्तर्राष्ट्रिय फुटबलमा ३८ गोल पुर्याएका छन्। यसअघि सालास र उनको बराबरी ३७ गोल थियो। आर्सनलका आफ्ना सहपाठी साकोड्रान मुस्ताफीको गल्तीको फाइदा उठाउँदै साञ्चेजले ६ मिनेटमा गोल गरेका थिए। तर, जर्मनीले लार्स सिन्डलको गोलमा ४१ मिनेटमा खेललाई १–१ गोलको बराबरीमा रोकेको थियो।
यो नतिजासँगै चिली २ खेलमा ४ अंक बटुलेर समूह बीको शीर्ष स्थानमा छ। जर्मनीले पनि ४ अंक बटुलेको छ। तर, गोलअन्तरका कारण चिली माथी छ।
चिलीको सर्वाधिक गोलकर्ता भएपछि साञ्चेजले खुसी व्यक्त गरेका छन्। ‘हाम्रो सपना छ, यो प्रतियोगिताको उपाधि जित्ने। यसपालि हामीले अनुभव पनि गरिरहेका छौं,’ आउँदो सिजन आर्सनल छोड्ने सम्भावना रहेका साञ्चेजले भने।