नयाँ शक्ति नेपालले आसन्न स्थानीय तह निर्वाचनका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ ।
सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले वडा नं ७ मा उपप्रमुख पदसहित बाँकी सबैमा महिलालाई उम्मेदवार बनाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार उपप्रमुखमा उक्त वडाका केशवती चौधरी, वडाध्यक्षमा कमलादेवी शाह, महिला सदस्यमा बुना चौधरी, दलित महिला सदस्यमा कवितादेवी विक र खुला सदस्यमा सवितादेवी चौधरी र सुस्मिता चौधरीको उम्मेदवारी परेको छ ।
महिलालाई पनि समाजको नेतृत्व दिनुपर्छ भन्ने मान्यताका साथ वडामा सबै महिला उम्मेदवार बनाएको नयाँ शक्तिका टीकापुर नगर संयोजक हरि तिमिल्सेनाले जानकारी दिए। उनले भने, “उहाँहरुको समाजसेवा गर्ने उच्च मनोबल देख्यौं। त्यही भएर सबै महिलालाई उम्मेदवार बनाएका हौं।”
उपप्रमुख उम्मेदवार चौधरीले आफूहरु नेतृत्व गर्न सक्षम भएकाले उम्मेदवारी दिएको बताइन्। नयाँ शक्तिले सङ्घीय समाजवादीबाट प्रमुख पदमा उठेका गोवर्धन विकलाई सघाउने भएको छ । रासस