चार दिनदेखि सिन्धु जलनले छट्पटाइरहेकी थिइन्। उठ्न खोज्थिन्, जलेका छाला तन्किँदा घाउ टन्किएर आउँथ्यो। सिधा हुन आँटिसकेका खुट्टा फेरि लर्खराउँथे।
सिन्धु बङ्लङ्ग पछारिन्थिन्।
बाबुराम कार्कीलाई सिन्धु छोरीजत्तिकै प्यारो छ। हुन पनि उनकी जेठी छोरी ओजस्वी र सिन्धु सँगसँगैका हुन्। तोते बोलीमा ओजस्वीले बा–आमासँगै ‘सिन्धु’ भन्न सिकिन्। तातेताते गर्दै सिन्धुको नजिक जान थालिन्। सिन्धुसँगै झ्याम्मिइन्। सिन्धुले नखाई बसेकी छ भने उसलाई तोतेबोलीमा भन्थिन्, ‘सिन्धु खाऊ।’
ओजस्वी अहिले चार वर्षकी पुगिन्, सिन्धु दुइटा बच्चाकी आमा भइसकिन्। दोस्रो बेतमा हालै बाच्छी जन्माएकी छन्।
उनै सिन्धु शनिबार आगोमा जलेर जीवन–मरणको दोसाँधमा छिन्। भेटनरी डाक्टरले आश मारिसकेका छन्। भनेका छन्, ‘सिन्धुको उमेर केही दिन या महिनासम्म मात्र लम्बिन सक्छ।’
अलि पर उनको टाटेपांग्रे बाच्छी टुहुरो हुने दिनगन्ती गरिरहेको छ। त्यहीँ निधार मुजा पार्दै झोक्राइरहेका छन्, उनलाई बाबुसमान माया दिएर हुर्काएका बाबुराम। उता, ओजस्वीको उस्तै हाल छ। आफूसँगै हुर्किएकी सिन्धुलाई हेर्न उनी घरिघरि छेवैमा पुग्छिन्। सिन्धुको चहराइरहेको घाउ देखेर आफैं चहराउन थाल्छिन्।
सिन्धु मात्र होइन, बाबुरामले आफ्नै सन्तान सरह पालन गरेका १ सय २२ गाईमध्ये ७२ वटा त्यो आगलागीमा मरे। जलेका गाईहरू सिन्धुजस्तै छटपटाइरहेका छन्।
आगलागीको दोस्रो दिनदेखि पशुपंक्षी मन्त्रालयका कर्मचारीले जलेका गाईको उपचार थालेका छन्। चौथो दिन ‘स्नेहाज केयर’ नामक संस्था मद्दत गर्न अघि सर्यो। सडकमा बेवारिसे छाडिएका जनावरको उपचार तथा रेखदेख गर्दै आएको यही संस्थाले घाइते गाईको घाँटी छेडेर स्लाइन चढाएको थियो। उनीहरूले गाईको शरीरभरी मलम दलिदिएका थिए। मलम दल्दा उनीहरू गाई हैनन्, टाटेपांग्रे जेब्राजस्ता देखिन्थे।
‘डाक्टरले जे भने पनि मैले आश मारेको छैन,’ बाबुराम भन्छन्, ‘जहिलेसम्म बाँच्छन्, म उपचार गराइरहन्छु।’
बाबुरामले गाई पाल्न थालेको चार वर्ष भयो।
ओखलढुंगा पुर्ख्यौली घर भएका बाबुरामको परिवार चाबहिल बस्थ्यो। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा अर्थशास्त्र पढाउने उनी त्यतिबेला निजी कलेजमा समेत पढाउँथे। फुर्सदको समय आर्थिक अनुसन्धानहरू गर्थे। प्राध्यापन र अनुसन्धानको कामबाटै मासिक औसत तीन लाख कमाइ हुन्थ्यो।
[caption id="attachment_51531" align="alignnone" width="960"]
आगोमा जलेर घाइते भएकी सिन्धु। तस्बिर: समुन्द्र/सेतोपाटी[/caption]
यति हुँदाहुँदै आफूले गाई पाल्न थाल्नुमा छोरी ओजस्वीकै हात रहेको उनी बताउँछन्।
‘जब छोरीको स्याहारको कुरा आयो, म ताजा दूधको खोजीमा लागेँ,’ बाबुराम चार वर्षअघि फर्के, ‘ताजा दूध कतै नपाएपछि आमाबाले घरमै गाई पाल्ने कि भन्नुभयो। म त्यही बेला काठमाडौं बाहिर गएको थिएँ, उहाँहरूले त घरनजिकै गोठ पनि बनाइसक्नुभएछ।’
बाबुरामलाई भने मध्यसहरमा गाई पाल्न अप्ठ्यारो हुन्छ कि भन्ने लाग्यो। उनी ठाउँ खोज्न थाले। भक्तपुरको दूधपाटीमा खाली जग्गा भेटे। गोठ र सानो घर बनाए। सुरुमा दुइटा गाई किने।
‘सुरुमा हामीलाई गाईलाई ज्वरो आउँछ भन्ने पनि थाहा थिएन,’ बाबुरामले भने, ‘खाना खाएन भने बन्दा, खोले कोचेर खुवाउँथ्यौं। हुँदाहुँदा सामान्य रोग लागेमा डाक्टर पनि बोलाउन नपर्ने भयो।’
रोगका हिसाबले अतिसंवेदनशील मानिने यस्ता विकासे गाईको स्याहारमा उनको परिवारले थुप्रै दुःख भोगेको छ। आफ्नै थलोमा जन्मिएका बाच्छीको अलि बढी माया लाग्दो रहेछ। एउटा बाच्छीलाई चार घन्टासम्म काखमा सुताएर उपचार गरेकाले उनको भावनात्मक साइनो गाँसिएको थियो।
यसरी छोरीलाई ताजा दूध खुवाउन हात हालेको गाईपालनले विस्तारै व्यवसायको रूप लियो। छोटो समयमै नाफा आएपछि उनी हौसिए।
उनीहरूले एक महिनाको बीचमा ६ वटा गाई पाले। घरजग्गा धितो राखेर बैंकबाट ऋण लिए। नपुग साथीसँग मागे। श्रीमान–श्रीमती गाई पालेर उतै बस्न थाले। भुइँचालो बेला गाई निकै बिरामी भए। काम गर्ने मान्छे नहुँदा दम्पतीले मात्रै फार्म सम्हाले। दानापानीदेखि औषधोपचारसम्मको चाँजो उनीहरू आफैं मिलाउँथे।
चाबहिलस्थित घरबाट दिनको डेढ/दुई सय लिटर दूध बिक्थ्यो। साथीहरूसँग मिलेर डेरी पनि खोलेका थिए। उनी बिहान तीन बजे उठेर गाई दोहीवरी मोटरसाइकलमा दूध पुर्याएर कलेज पढाउन जान्थे। जब दूधको माग बढ्दै गयो, दुइटा गाडी किने। आफ्ना लागि कार पनि किने।
विदेशी संस्थाले पनि दिनकै चार सयभन्दा बढी लिटर दूधको माग गर्यो। यसरी उनले दिनको हजार लिटर दूधको खाँचो देखे। उनले अझै गाई थपे। तैपनि, मागअनुसार आपूर्ति गर्न सकेका थिएनन्।
भक्तपुर छँदा दानापानी, औषधी, कामदार गरी सबै खर्च कटाएर दिनको नौ हजारसम्म आम्दानी भएको उनी बताउँछन्। भुइँचालो, नाकाबन्दी बेला दिनको ३० हजारसम्म घाटा लागेको क्षण पनि उनले व्यहारेका हुन्।
गाई थप्दै जाँदा ठाउँको अभाव भएपछि बाबुराम भक्तपुरबाट सुन्दरीजल पुगे। गत फागुनमा मात्र सुन्दरीजल सरेका उनले पाँच महिना त दिनको २५/३० हजारसम्म घाटा व्यहोरे।
‘फागुनमा भक्तपुर तातिसकेको थियो,’ उनले भने, ‘खोलो र जंगलको छेउको सुन्दरीजल त पुस–माघजस्तो। तापक्रम नमिल्दा गाईहरू भटाभट बिरामी पर्न थाले।’
[caption id="attachment_51494" align="alignnone" width="883"]
आगोमा जलेर घाइते सिन्धुकी बाच्छी। तस्बिर: समुन्द्र/सेतोपाटी[/caption]
चार वर्षको अनुभवले कस्तो अवस्थामा गाईलाई कस्तो औषधि र स्याहार चाहिन्छ भन्ने बाबुरामले जानिसकेका थिए। त्यही अनुभवका आधारमा उनले प्रतिकूल अवस्थामा पनि गाईहरू जोगाए। जेठ महिनासम्म घाटा व्यहोरेका उनको फार्मले विस्तारै दिनको दुई–तीन हजार नाफा दिन थाल्यो। गाई जल्नुअघिको दिन सात हजार नाफा भएको उनी सम्झन्छन्।
अर्थशास्त्रका विद्यार्थी भएका नाताले उनले आफ्नो शिक्षालाई फार्ममा सक्दो उपयोग गरेका थिए। उनका योजना स्पष्ट थिए। साउनदेखि महिनाको दस लाखसम्म नाफा हुने उनको विश्वास थियो। दुई वर्षभित्र सम्पूर्ण ऋण चुक्ता गर्ने योजना पनि उनले बुनिसकेका थिए।
यसबीच एक विदशी संस्थाले साझेदारीको प्रस्ताव पनि ल्याएको रहेछ। उनले झन्डै स्वीकारिसकेका थिए। साझेदारीमा गएका भए यतिबेलासम्म उनको फार्म अत्याधुनिक भइसकेको हुन्थ्यो। दूध दुहुनेदेखि प्याकिङसम्म सबै मेसिनले गर्थ्यो। तर, उनी तुरुन्तै जोखिम मोल्न तयार भएनन्।
यी दम्पती आफ्ना गाईहरूसँग कतिसम्म निकट थिए भने, उनीहरूले फार्ममा पालिएका सबै गाईका भिन्दाभिन्दै नाम राखेका थिए। सबै गाईलाई उनीहरू नामैले बोलाउँछन्। शनिबार आगलागी हुनुअघि उनीहरूको गोठमा जम्मा एउटा गाई मरेको थियो।
‘त्यो पनि मर्ने थिएन,’ बाबुरामले भने, ‘एक दिन हाम्रो नियमित भेटनरी डाक्टरको छोराको बिहे थियो। त्यो गाई बिरामी थियो। मैले अर्कोलाई रेखदेख गर्न छाडेर जानु नै गल्ती भयो।’
त्यो घटनापछि बाबुराम भोजभतेर र आफन्तकहाँ जानै छाडेछन्। दसैंमा काठमाडौंभित्रै ससुराली घरमा टीका लगाउन नगएका उनी कलेजबाट फर्कनेबित्तिकै लुगासमेत नफेरी गोठमा पुग्थे। उनी छिर्नेबित्तिकै गाईहरू चलाख हुन्थे। नाम काढेर बोलाउँदा कान ठाडा पार्दै पुलुक्क हेर्थे। बिरामी गाई स्याहार्ने जिम्मा पनि बाबुरामको मात्र हुन्थ्यो।
तर, असार ४ गते यस्तो घटना भयो, जसको चोटबाट बाबुरामले अझै आफूलाई सम्हाल्न सकेका छैनन्।
हरेक दिन बिहान ३ बजे उठेर गोबर सोहोर्ने, दूध दुहुने र ५ बजेभित्र बजारतिर ढुवानी गरिसक्ने उनको दैनिकी थियो। गएको शनिबार पनि बाबुरामले त्यस्तै गरे। दूध बजार पठाइसकेपछि बिहान १० बजेसम्म गाई र गोठको सरसफाइ र दानापानीमै बित्यो। खाना खाएर उनी केही बेर आराम गर्न गए। कामदारहरू पनि फुर्सदमा थिए।
त्यही बेला कोठामा सुतिरहेकी एक कामदार महिला आफ्नो बच्चाका लागि पानी लिन उठिन्। धारातिर गइन्। आँखा मिच्दै हिँडिरहेकी उनले फार्मको एक छेउमा धुवाँको मुस्लो देखिन्। र, चिच्याउँदै बाबुरामको कोठातिर आइन्, ‘सर सक्क्यो! सक्क्यो!’
सबै कामदार मस्त निद्रामा थिए। निदाइरहेका बाबुरामले सोचे, ‘दाना, घाँस या केही सर–सामान सकियो होला।’
केही बेरपछि मात्र उनले स्पष्ट स्वरमा भनिन्, ‘गोठमा आगो लाग्यो।’
बाबुराम झस्किए। जुरुक्क उठे। बाहिर निस्कँदै गर्दा गोठको एक छेउमा हुरहुर्ती आगो दन्किरहेको थियो। धुवाँको मुस्लो छुटिरहेको थियो। उनी तुरुन्तै भित्र छिरे। हँसिया बोकेर आगो बलेतिर गए। चटाचट गाई बाँधिएका दाम्ला काट्न थाले। १०/१२ वटा गाईको दाम्ला काट्न मात्र के भ्याएका थिए, छानोमा लागेको आगो तीव्र बेगले अर्को छेउतिर बढ्यो।
कामदारले बाबुरामलाई तानेर बाहिर निकाले।
एकैछिनमा सयभन्दा बढी गाई अटाउने गोठको वारपार छानो झ्वाम्मै खस्यो। धेरै गाई त्यहीँमुनि अचेटिए। कामदारले तान्न ढिलो गरेको भए बलेको छानो बाबुराममाथि पनि खस्न सक्थ्यो!
बाबुरामलाई यतिसम्म मात्र होस छ। त्यसपछि के–के गरे, के–के भने उनलाई थाहा छैन। उनी अर्धबेहोस भएछन्। तीन जना कामदार त बेहोसै भएर ढलेछन्।
एकैछिनमा गाउँभरिका सबै मान्छे भेला भए। मान्छेको कोलाहलले दाम्लो काटिएका गाईहरू पनि गोठभित्रै छिरेछन्। जम्मा पाँच गाई मात्र बाहिर निस्किए र सकुशल भए। बाँकी गाई त घन्टौंसम्म आगोको मुस्लोभित्रै जलिरहे ... कराइरहे ... जलिरहे ... कराइरहे ...।
उनीहरूले धेरै दूध दिने कल्चौंडा ठूलो भएका गाईलाई बस्न सजिलो होस् भनेर भुइँमा रबर म्याट बिछ्याएका थिए। जस्ताको चिसो र गर्मीबाट बचाउन जस्तापाता र बाँसका भाटाका बीचमा बाक्लो म्याट्रेस राखिएको थियो। यी सामग्रीले छिट्टै आगो टिप्थ्यो र चाँडो फैलन्थ्यो। सँगै बाँसका भाटा पनि जलिहाले। जस्ता थाम्ने बाँस नै जलेपछि छानो एकैचोटि झ्वाम्मै खसेको थियो। त्यसपछि त माथिको आगोले भुइँको रबरम्याटलाई पनि समात्न भ्याइहाल्यो।
बाबुरामका अनुसार माथिको म्याट्रेस र तलको रबर बलेर गाईहरू गुम्सिएका थिए। करिब तीन घन्टामा दमकल आइपुग्यो। आगो निभ्दासम्म ४५ गाई मरिसकेका थिए। बाँकी छट्पटाइरहेका थिए। कतिलाई बाहिर निकालियो, कति निकाल्दा निकाल्दै मरे। कति गाईले त केही बेरमै घाँस खान थालिहाले। तर, घाँस खाँदाखाँदै सास छाडेको दर्दनाक दृश्य पनि बाबुरामले देखे।
[caption id="attachment_51496" align="alignnone" width="883"]
सुन्दरीजलस्थित शनिबार आगलागी भएको गाई फार्म। तस्बिर: समुन्द्र/सेतोपाटी[/caption]
बाबुराम सुन्दरीजल सरेको ६ महिना मात्र भएको थियो। सुरुमा अस्थायी समयका लागि छानो छाएका उनले केही दिनमा अग्लो र फलामको छाना लगाउँदै थिए। त्यसका लागि पहिलेको छानामाथि फलाम पनि टाँगिइसकेको थियो। करिब एक सातामा त्यसमाथि नयाँ छाना लाग्नेवाला थियो। नयाँ छाना लगाइसकेपछि ठाउँ फराकिलो हुने, हावा चल्ने, हुरी चल्दा नउडाउने र आगो लागिहाले पनि कुनै असर नपर्ने हुन्थ्यो। तर, त्यसो हुन पाएन। पुरानो छाना नै गाईहरूको मृत्युको मुख्य कारक बन्यो।
अब बाबुरामसँग तीन दिनदेखि डेढ महिनासम्मका साना बाच्छी र पाँच गाई मात्र सद्दे छन्। क्षणभरमै उजाडिएको फार्ममा अहिलेसम्म चार करोड खर्च भइसकेको र दुई करोड त ऋण तिर्न बाँकी रहेको बाबुराम बताउँछन्।
बाबुरामको एक मनले सोचेछ, ‘फार्म बन्द गरेर विदेश भास्सिउँ कि क्या हो?’
केही साथीलाई यो कुरा सुनाए पनि। तर, उनीहरूले भनेछन्, ‘अर्थशास्त्र पढेको र लगनशील मानिस विदेश गएर हुँदैन। यहीँ गर्नुपर्छ। बरु हामी चन्दा उठाउँछौं, गाई खोजिदिन्छौं।’
‘चन्दाले घरव्यवहार चल्ला, उद्योग चल्दैन,’ बाबुरामले साथीहरूसँग भने, ‘चन्दा होइन, सापटी उठाउने हो भने दस लाख उठाउनु। दस लाखभन्दा कम भएर काम चल्दैन। त्यति पैसा उठ्यो भने म फेरि व्यवसायमा फर्कने सोचौंला।’
‘हुन त मैले अब के गर्ने भनेर सोच्न सकेकै छैन,’ बाबुराम भन्छन्, ‘मेरो भौतिक सम्पत्ति त गयो गयो। तर, साथीहरू पनि सम्पत्ति रहेछन्। त्यतिबेला पढाउँदा र अनुसन्धानको काम गर्दा बनेका सम्बन्ध यतिबेला काम लागेका छन्। उनीहरूले सहयोग गर्छन् भन्ने ठूलो विश्वास छ। करोडौंको लगानी परेकाले सरकारको पनि सहयोगको खाँचो छ।’
आगलागीको घटनापछि बाबुरामले आफूलाई मानसिक रूपमा सम्हाल्नधरि सकेका छैनन्।
‘बाहिर निस्कन खोज्यो, ढोकैबाट लहरै बाँधिएका गाईको मात्र झल्को आउँछ,’ बोल्दै गर्दा बाबुरामको घाँटीमा केही अड्किएजस्तो सुनिन्थ्यो, ‘तुरुन्तै भित्र पसिहाल्छु। आफैंले हुर्काएकाले ती मेरा सन्तानजस्ता थिए।’
‘हाम्रा दुई छोरी तिनैका दूध खाएर हुर्किए। त्यसैले कहिलेकाहीँ त मेरी छोरीका आमाजस्ता लाग्थे।’