म्यानचेस्टर सिटीले आँखा लगाएको युभेन्ट्सका राइट–ब्याक डानी आल्भेसलाई छोड्न क्लब सकारात्मक देखिएको छ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ३४ वर्षीय आफ्नो पूर्व खेलाडीलाई लन्डनमा भित्र्याउन आतुर देखिन्थे। बार्सिलोनामा प्रशिक्षक हुँदा ग्वार्डिओलाको रेखदेखमा आल्भेसले उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनी यसपालिको च्याम्पियन्स लिगमा बार्सिलोनालाई नकआउट चरणबाट बाहिर निकाल्न सबैभन्दा प्रभावशाली देखिएका थिए। इटालियन मिडियासँग कुरा गर्दै युभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत बेपे मोराटाले बुधबार राती भने, ‘आल्भेसले नयाँ अनुभव बटुल्ने इच्छा जाहेर गरेका छन्।’
मोराटाले आल्भेससँगको सम्झौता पारस्परिक हितमा भंग हुने बताएका छन्। आल्भेस यसै वर्ष युभेन्ट्स गएका थिए। तर, एकै वर्षमा सिरिया उपाधि र च्याम्पियन्स लिगको फाइनल पुग्ने खेलाडी बने।
उनी आठ वर्ष बार्सिलोनामा थिए। जसअन्तर्गत ४ वर्ष ग्वार्डिओलाको नेतृत्वमा खेलेका थिए। यसअवधिमा दुई वटा च्याम्पियन्स लिग र तीन पल्ट ला लिगाको उपाधि जिताउन उनको भूमिका अहम थियो। सिटीलाई हाल अनुभवी राइट–ब्याकको आवश्यकता छ। पाब्लो जाबालेटा र बाकारे साग्नालाई सम्झौताबाट हटाएपछि सिटीमा अनुभवी खेलाडीको आवश्यकता परेको हो। ग्वार्डिओलाले नै आल्भेसलाई २००८ मा सेभियाबाट २ करोड ३० लाख पाउण्डमा बार्सिलोना भित्र्याउन महत्वपूर्ण योगदान गरेका थिए। उनी टोटेनहामका केली वाल्करलाई पनि भित्र्याउने अभियानमा छन्।