गृहमन्त्री जनार्दन शर्माले बिहीबार विराटनगरमा प्रदेश नं १ को क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गरेका छन्। स्थानीय तहको निर्वाचन, २०७४ लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरूले गोष्ठीको आयोजना गरेका हुन्।
गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको उपस्थिति थियो।
यसका साथै, प्रदेश नं १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका पदाधिकारीको पनि सहभागिता थियो।
सो अवसरमा गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा मतदातालाई मतदान गराउने दायित्व सरकारको भएको बताए।
संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहेको प्रसङ्ग उल्लेख गर्दै उनले अब मुलुकमा सङ्घीय प्रशासनिक ढाँचा निर्माण गर्नुपर्ने र विभिन्न प्रकारका ऐन कानुन निर्माण र कानुनको संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाएको जानकारी गराए।
स्थानीय तहको निर्वाचनपछि जनताको अधिकार स्थापित हुने, राजनीतिक समस्याको समाधान हुने र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम हुने विश्वास प्रकट गरे।
दोस्रो चरणको निर्वाचनका लागि प्रायः सबै दल निर्वाचनमा सहभागी भएको भन्दै गृहमन्त्री शर्माले राजपा र विप्लव समूह स्वतन्त्र रुपमै केही ठाउँमै भए पनि निर्वाचनमा सहभागी भएको उल्लेख गरे।
गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको उक्त गोष्ठीमा गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेले गोष्ठीको उद्देश्यबारे प्रकाश पारेका थिए। रासस