युद्ध मैदानमा परिणत भएको खेलमा मेक्सिकोले २–१ गोलले न्युजिल्यान्डलाई पराजित गर्दै कन्फिडरेशन कपको समूह ‘ए’ मा आफूलाई शीर्ष स्थानमा राखेको छ। पहिलो हाफमा एक गोलले पछि रहेको अवस्थालाई उल्ट्याउँदै मेक्सिकोले दोस्रो हाफमा दुई गोल फर्काएका थियो।
खेल सुरुदेखि नै तनावपूर्ण रहयो। पहिलो हाफमै न्युजिल्यान्डका कप्तान क्रिस उडले आफ्नो डिफेन्डर कार्लोस सालसेडोलाई डिबक्सभित्र लतारेको आरोपमा मेक्सिकोका प्रशिक्षक हुँवा कार्लोस ओसोरियो क्रृद्ध देखिए। यो घटनामा काँधमा चोट बोकेर सालसेडो मैदानबाट बाहिरिए भने ५६ वर्षीय मेक्सिकोका प्रशिक्ष्कले न्युजिल्यान्डका सहायक प्रशिक्षकलाई टच लाइन नजिकैबाट अपशब्द प्रयोग गरेका थिए। खेल समाप्त भएपछि उनले आफ्नो त्यो हर्कतप्रति माफी मागे।
लिड्स युनाइटेडबाट खेल्ने गरेका न्युजिल्यान्डका कप्तान क्रिस उडले ४२ मिनेटमा पहिलो गोलको सफलता दिलाएका थिए। तर, न्युजिल्यान्डले धेरै लामो समय अग्रतालाई कायम राख्न सकेन। ५४ मिनेटमा बेनिफिकाका राहुल जिमेनेजले गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए। ७२ मिनेटमा ओरिबे पेराल्टाले अर्को गोल थपेपछि मेक्सिको विजयी भयो।
निर्धारित ९० पछि थप गरिएको दोस्रो मिनेटमा न्युजिल्यान्डका मिचेल बोक्सालले अगाडि बढाई रहेको बललाई रोक्न मेक्सिकोका कप्तान डिएगो रेयासले जर्सी तानेपछि खेल मैदान युद्ध मैदानमा परिणत भयो। दुवैतर्फका खेलाडी कुटाकुटमा उत्रिँएपछि रेफ्रि बाकारे गासामाले पहेँलो कार्ड दिन भिडियो सहायक रेफ्रिको सहयोग लिनु परेको थियो। यो काण्डमा रेयास, हेक्टर हेरेरा र बोक्साललाई पहेँलो कार्ड देखाइएको थियो।
मेक्सिकोले आफ्नो स्टार स्ट्राइकर जाभियर हर्नान्डेजलाई बेञ्चमा राखेको थियो। यो नतिजापछि ४ अंक बटुलेको मेक्सिको गोलअन्तरको आधारमा पोर्चुगल बराबरी अंक बटुले पनि शीर्ष स्थानमा छ।