अमेरिकामा सन् १९७२ मा जेर्री गेरर्डको लेखन र निर्देशनमा एउटा अश्लील सिनेमा बन्यो - 'डिप थ्रोट' ।
त्यस अश्लील सिनेमाको नामबाट 'डिप थ्रोट' नामक एउटा सूत्र अमेरिकाको चर्चित वाटरगेट काण्डको पर्दा भित्र आयो। डिप थ्रोटको छद्मभेसी नाम दशकौसम्म रहस्यमय बन्यो। वाटरगेट कान्डलाई निष्कर्षमा पुर्याउन प्रख्यात समाचार संस्था - द वाशिङ्टन पोष्टलाई भित्री रूपले सूचना प्रवाह गर्ने सहयोगी -डिप थ्रोटका बारेमा सर्बत्र चासो र जिज्ञासाबीच तीन दशकसम्म डिप थ्रोटको रहस्य गर्भमै राखियो।
वाटरगेट काण्डका सूत्रधारीको सक्कली नामलाई तीन दशकसम्म पर्दा भित्र राख्दै वाशिंगटन पोस्टका रिपोर्टर बब उडवर्ड तथा कार्ल बर्नस्टेनले भनेका थिए- ‘हामी आफ्नो पत्रकारिताको धर्म पालना गर्छौ, उनको मृत्यु पश्चात मात्र डिप थ्रोटको रहस्य सार्बजनिक गर्नेछौ।’
वाटरगेट काण्डका ती सूत्रधारी व्यक्तिको परिचय उनको मृत्यु पश्चचात मात्र सार्वजनिक गर्ने आफ्नो पत्रकारिताको धर्मलाई वाशिङ्टन पोष्टले पालना गर्यो। वाटरगेट काण्डको ३३ वर्ष पछि सन् २००५ मा ती सूत्रधारी ब्यक्ति आफैंले आफ्नो असली नाम सार्वजनिक गरे।
आखिरकोथिए डिपथ्रोट?
अमेरीकी राष्ट्रपति रिचर्ड निक्सनको कार्यकालमा राष्ट्रपतिको अधिकार कसरी दुरूपयोग भइरहेको छ भन्ने गोप्य सूचना डिप थ्रोट नामक एक छद्मभेसी व्यक्तिले वाशिंगटन पोस्टका संवाददातालाई दिएका थिए। डिप थ्रोटको सूचनाका आधारमा वाशिङ्टन पोस्टले थप छानबिन गर्दै समाचार छापेर वाटरगेट काण्डको रहस्य सार्वजनिक गरेको थियो। तीन दशकसम्म डिप थ्रोटको सक्कली नाम गोप्य राखियो।
सन २००५ मा विलियम मार्क फेल्टले डिप थ्रोट आफूनै भएको सार्वजनिक गरे। उनी निक्सन प्रशासन ताकाका एफबीआईका बिशिष्ट एजेन्ट थिए। भाइनिटी फेयर पत्रिकामा एउटा लेख लेख्दै उनले भनेका थिए ‘म नै त्यो व्यक्ति हुँ जसलाई डिप थ्रोटको छद्मभेसी नामबाट चिनिन्छु।'
यसपूर्व वाशिङटन पोष्टले डिप थ्रोटको बास्तविका नाम सार्वजनिक गर्न मानेको थिएन। डिप थ्रोटको रहस्यलाई उनको मृत्यु पश्चात मात्र सार्वजनिक गर्ने वाशिंगटन पोस्टका रिपोर्टर बब उडवर्ड तथा कार्ल बर्नस्टेनले भनेका थिए।
डिप थ्रोटको सूचनाबाट नै वाटरगेट चोरीका पछाडि राष्ट्रपति निक्सनको समर्थन थियो जसको माध्यमले उनी दोस्रो पटक राष्ट्रपतिको चुनाव जित्न चाहान्थे भन्ने पुष्टी भएको थियो। वाटरगेटको छानबिनमा राजनीतिक जासूसी, षणयन्त्र तथा भष्टाचारका मुद्दाहरू सार्बजनिक भए जहाँ यी सबै कार्यहरुमा व्हाइट हाउसको संलग्नता भएको प्रमाण भेटिएपछि राष्ट्रपति निक्सनले राजीनामा दिन बाध्य हुनुपरेको थियो।
व्हाइट हाउसको सूचना लिक गरेका कारण सम्भावित सजायको डरले मार्क फ़ेल्टले धेरै वर्षसम्म आफूलाई रहस्यमा राख्नु परेको बताएका थिए। उनले एफ़बीआईको प्रमुखका रुपमा सरकारी गोपनियताको उल्लंघन गरेको अपराध गरेका थिए। कमान्डर इनचिफलाई धोका दिएका कारण मार्क फ़ेल्टका विरोधीहरु उनलाई धोकेबाज भन्छन्। तर, एक भ्रष्ट प्रशासनको रहस्य बाहिर निकालेकाले उनका प्रशंसकहरू उनलाई हिरो मान्छन्। सन् २००८ को डिसेम्बरमा ९५ वर्षको उमेरमा मार्कफेल्टको निधन भएको थियो।
पत्रकारिताको ईतिहासमा 'डिप थ्रोट' पात्र रहेको 'वाटर गेट काण्ड ' लाई सर्बोत्तम खोज मुलक पत्रकारिताका रूपमा आज पनि हेरिन्छ र पत्रकारिताको विषय बस्तुमा वाटरगेट काण्डलाई समावेस गरी कलेजहरुमा पढाईन्छ।
रसियाप्रकरणमा'डिपथ्रोट'कोपुनर्जन्मभएकोआशंका
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाले प्रभाव पारेको भन्ने आरोपका कारण यतीखेर अमेरिकी राजनीतिले कोल्टे फेरेको छ। व्हाईट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हाच्छिउँ गरेको खबरसमेत प्रमुख मिडियाहरुले प्राप्त गर्न थालेपछि रसिया प्रकरणमा नयाँ 'डिप थ्रोट' को पुनर्जन्म भएको आशंका गरिदै छ ।
अमेरिकी राष्ट्रपतिको चुनावी प्रचार देखि नै रिपब्लिकनबाट राष्ट्रपतीय उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भाल्दिमिर पुटिनबीचको सम्बन्धका बारेमा ब्यापक चर्चा पायो। डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी हिलारी क्लिन्टनका ईमेलहरू सार्वजनिक भए। क्लिन्टनका ती ईमेलहरु ट्रम्पको मिलोमतोमा रुसले ह्याक गराएको आरोप लाग्यो।
चुनाव प्रचार ताकादेखि अहिलेसम्म डेमोक्रेटिक पार्टीले राष्ट्रपतीय निर्वाचनलाई रुसले प्रभाव पारेको आरोप लगाउँदै आएको छ। गत जनवरीमा अमेरीकी जासुसी संस्थाले मस्कोस्थित क्रेमलिनका ह्याकरहरुले वरिष्ठ डेमोक्रेट नेताहरुका ईमेल ह्याक गरेका थिए जसमा हिलारी क्लिन्टन लाई पराजित गर्न डोनाल्ड ट्रम्पलाई सहयोग गरेको ब्यहोरा सार्वजनिक भएको थियो।
रूसी प्रकरण लगायत ट्रम्पको व्यक्तिगत स्वभावलाई लिएर मिडियालेसमेत राष्ट्रपति ट्रम्पलाई घेराबन्दी गरेका छन्। ठूला मिडियाहरु एक भएर ट्रम्प प्रशासनको कार्य शैली र उनको रूससँगको सम्बन्धलाई लिएर आफ्नो अड्कल वाजी गर्दै छन् भने टेलिभिजनमा दिनहुँ बहस हुने गरेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो कार्यभार सम्हालेको पाँच महिना बितेको छ। यस अवधिमा राष्ट्रपति ट्रम्पले नियुक्ति गरेका राष्ट्रिय सुरक्षा सल्लाहाकार माइकल फ्लीनले राजीनामा दिनु पर्यो। रूससँग परराष्ट्र नीति विपरीत अनुचित सम्पर्क गरेको कारणले फ्लीनलाई राजीनामा दिन दवाव परेको थियो।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसको संलग्नतामाथि एफबिआइले छानबिन गरिरहेको एफ़बीआईका तत्कालिन निर्देशक जेम्स कुमीले बताए लगत्तै अमेरिकी राजनीतिले चार दशक पुरानो वाटरगेट नामक काण्डलाई सम्झाएको थियो। कुमीले आफ्नो बयानमा ‘ट्रम्पको चुनावी प्रचारमा संलग्न अन्य सहयोगीको समेत रूसी सरकारसँग के कस्तो सम्बन्ध थियो सोको बारेमा छानबिन भइरहेको बताएको केहि दिन पश्चात उनलाई राष्ट्रपति ट्रम्पले पदमुक्त गरेका थिए। एफ़बीआईका निर्देशक जेम्स कुमीलाई पद मुक्त गरेपछि अमेरिकी राजनीति तरङित भएको छ। अमेरिकी माथिल्लो सदन सिनेटको छानबिन कमिटीले एफ़बीआईका तत्कालिन निर्देशक जेम्स कुमीलाई बयान लिएको थियो। कुमीले आफ्नो बयानमा रसिया प्रकरणको छानविनलाई निस्तेज पार्न आफूलाई राष्ट्रपती ट्रम्पले पद मुक्त गरेको बयान दिएका थिए।
ट्रम्पका नवनियुक्त अटेर्नी जनरल जेफ सेसन्स पनि रूससँगको सम्बन्धलाई लिएर विवादमा तानिएका छन्। उनले आफ्नो सपथका बेला सीनेटरहरुलाई आफूले रूसका अधिकारिसँग सम्पर्क नगरेको भन्दै कांग्रेसलाई भ्रममा राखेको आरोप छ। तर उनले गत साल रूसका राजदूतसँग कुरा गरेको प्रमाण सार्वजनिक भएको छ।
नवनियुक्त अटेर्नी जनरल जेफ सेसन्स पनि एफबिआईको छानबिनमा रहेको बताईन्छ। अटेर्नी जनरल जेफ सेसन्स माथि लागेको चर्को आरोपका कारण अमेरिकी माथिल्लो सदन सिनेटको छानविन कमिटीले गत साता उनलाई बयान लिएको थियो। सेसन्सले आफ्नो बयानमा रूससँगको सम्बन्धलाई लिएर अस्पष्ट भनाई राखेका थिए।
यसै गरी रसिया प्रकरण मा राष्ट्रपति ट्रम्पका सहयोगी हरू - राष्ट्रपति ट्रम्पका छोरी ज्वाई जेरेड कुशनर, ट्रम्प क्याम्पेनका पूर्व प्रबन्धक पल मानफोर्ट, ट्रम्पका वरिष्ठ सल्लाहाकार मध्येका एक रोजर स्टोन, ट्रम्पका एक पूर्व विदेश नीति सल्लाहाकार कार्टर पेज आदिसमेत रसिया प्रकरणको घेरामा परेका छन्।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पलाई खुलेर सहयोग गर्ने र अत्यन्त भरपर्दा मानिएका प्रत्येक सहयोगीहरुको रसियासँगको साठ्गाठका बारेमा मिडियामा खबर कसरी चुहियो भन्ने रहस्यले अमेरिकी राजनीतिमा नयाँ डिप थ्रोटको पुनर्जन्म भएको आशंका गरिदैछ।